images
images
  • कीर्तिमान रच्दै इटाली पुग्यो क्वार्टरफाइनलमा

    एजेन्सी । इटाली युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । शनिबार राति भएको दोस्रो प्रि–क्वार्टरफाइनलमा अष्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै इटाली अन्तिम आठमा पुगेको हो ।

    इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जिताउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

    प्रतिस्पर्धात्मक बनेको खेल ९० मिनेट वित्दासम्म गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा इटालीले दुई गोल गरेको हो ।

    खेलको ९५औँ मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १–० गोलको सुरुवाती अग्रता दिलाए । उनले लियोनार्दोको पासमा गोल गरे । उनी ८४ औँ मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

    १ सय ५ औँ मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । फ्रान्सिस्कोको पासमा गोल गरेका उनी ६७औँ मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरे ।

    त्यसपछि खेलको ११४ औँ मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २–१ ले विजयी भयो । उनले लुइसको पासमा हेडमार्फत गोल गरे । तर, उनको गोलले हारबाट जोगाउन भने सकेन ।

    यो जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टोलीको कीर्तिमान रचेको छ । इटालीले ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गरेको हो ।

    उसले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।

    योसँगै इटाली क्वार्टरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    इटालीले क्वार्टरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको समूह चरणमा इटाली समूह ‘ए’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा इटालीले ३ खेलमा ९ अंक जोडेको थियो ।

    पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया समूह ‘सी’को उपविजेता बनेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images