images
images
  • उत्कर्षमा पुगेको आन्दोलनमाथि चौतर्फी दबाब, माग सम्बोधन नभएसम्म सडक नछोड्ने अडानमा शिक्षक

    काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।

    गत चैत २० दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ । ‘तपाईंहरुका जायज मागहरू पूरा हुनुपर्छ । हामीले नि त्यही नै भनेको छौँ तर आन्दोलन निरन्तरता दिए पनि स्वरूप फेर्नुहोस् ।,’ सिजपका महासचिव तिलोत्तम पौडेलले भने, ‘शिक्षाको आधारभूत प्रवेश भर्ना अभियान, बाँकी भएकाको नतिजा प्रकाशन र कक्षा १२ को परीक्षा नरोक्न आवश्यक विकल्प खोज्नुहोस् । बालबालिकाको अधिकारप्रति थप सचेत हुनुहोस् ।’

    नेपालको संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा प्राप्तिको सुनिश्चितता गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकम ३४ दशमलव ८४ प्रतिशत बालबालिका रहेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभामा सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए । निकासकै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल पूरा गर्न सकिने मागबारे मन्त्रिपरिषद्का प्रस्ताव पेस गर्ने तयारी गरेका बेला शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले अन्योल उत्पन्न भएको छ ।

    विगतमा भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासंघले आन्दोलन गर्दै आएको छ ।

    मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि बैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।

    संसदीय समितिमा विचाराधीन रहेको विधेयकलाई यहीँ बैशाखको तेस्रो सातासम्म संसद्को बैठकमा प्रस्तुत गर्न विधायकी पहल भइरहेको छ ।

    मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको थियो ।

    त्यस्तै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकलाई सडकबाट विद्यालयमा फर्काउन नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघसमक्ष आग्रह गरेको छ ।

    महासंघका अध्यक्ष गुणराज मुक्तानले बुधबार प्रेस विज्ञप्ति जारी गरी आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकहरूलाई सडकबाट विद्यालयमा फर्काउन आग्रह गरेका छन् ।

    ‘संविधान जारी भएको एक दशक हुँदा पनि ऐन नआएपछि त्यसको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको सडक आन्दोलनलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक समस्या समाधानमा जिम्मेवार बन्न नेपाल सरकारसमक्ष माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘जिम्मेवारीपूर्वक गम्भीर ढंगले परिस्थितिको आकलन गरेर आन्दोलनको स्वरुप परिवर्तन गर्न नेपाल शिक्षक महासंघलाई आग्रह गर्दछौँ ।’

    त्यसैगरी यातायात व्यवसायी संघहरूले पनि शिक्षक आन्दोलनमाथि दबाब बढाएका छन् । ती संघहरूले सडकमा सवारी साधान आवागमनमा कठिनाइ भएको भन्दै आन्दोलन रोक्न आग्रह गरेका छन् भने आन्दोलन नरोकिए यातायातका साधन सडकमा तेस्र्याउने चेतावनी दिएका छन् ।

    उता शिक्षक महासंघले भने आफ्ना माग सम्बोधन नभएसम्म कुनै हालतमा आन्दोलन नरोक्ने बताएको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images