images
images
  • शिक्षकले बहिष्कार गरेपछि कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटिने, भिडन्त उन्मुख वेतनधारी

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यहीँ बैशाख ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने तथा समय खेर जाने भएकाले परीक्षा नरोक्ने उनले बताए ।

    प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधकिारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको नियन्त्रक शर्माले बताए ।

    प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ ।

    तर, शिक्षक महासंघले भर्खरै सडकबाटै कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएको छ । उसले कुनै पनि शिक्षकलाई परीक्षामा सहभागी नहुन निर्देशन दिएको छ भने परीक्षामा सहभागी हुने जोकोही कारबाही गर्ने चेतावनी दिएको छ ।

    बोर्डको आजको बैठकले आन्दोलनरत शिक्षकलाई परीक्षा सञ्चालन गर्न सहयोग गर्न आह्वान गरेको छ । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images