काठमाडौं । गत फागुन चौथो सातायता काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) अशान्त बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वराजा समर्थकहरूले गत चैत २५ गते गरेको प्रदर्शनयता उपत्यका अशान्त बनेको हो ।
राप्रपा र पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकहरूले राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापनाका लागि फागुन २५, चैत १५ र बैशाख ७ मा काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले गणतन्त्रविरुद्ध नाराबाजी गर्नुका साथै राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापनाका लागि प्रदर्शन गर्दै आएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २५ मा एक महिने पोखरा भ्रमण सकेर काठमाडौं फर्किँदा उनको स्वागतका लागि राप्रपा र दुर्गा प्रसाईं नेतृत्वको समूहले अनपेक्षित प्रदर्शनकारीहरू सडकमा उतारेर प्रदर्शन गरेको थियो ।
उक्त प्रदर्शनको बलको उक्साहटले राप्रपा र राजावादीहरूले चैत १५ मा काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए । सोही प्रदर्शनमा एकजना पत्रकारसहित अर्का निर्दोष नागरिकको निहत्था ज्यान गएको थियो भने ठूलो धनजनको क्षति भएको छ ।
घटनाको नेतृत्व गर्ने राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, र दुर्गा प्रसाईं जेलमा छन् । केही प्रदर्शनकारी अहिले पनि प्रहरी नियन्त्रणमा छन् । राप्रपाले हिजो (आइतबार) सिंहदरबारभित्रै प्रदर्शन गरेको थियो ।
त्यस्तै देशैभरका सामुदायिक विद्यालयका शिक्षक गत चैत २० गतेबाट आन्दोलनमा छन् । उनीहरूले २५ गतेबाट सम्पूर्ण शैक्षिक क्रियाकलाप बन्द गरेर शैक्षिक हड्तालमा उत्रिएका छन् । विद्यालय शिक्षा ऐनलगायत आफ्ना विभिन्न माग राख्दै आन्दोलनलाई १९ दिनयता निरन्तरता दिएका छन् ।
शिक्षक आन्दोलनकै कारण एसईई उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षा प्रभावित बनेको छ । शिक्षकका माग पूरा गर्न सरकारी पक्ष र आन्दोलनरत शिक्षक प्रतिनिधिबीच वार्ता पनि भइरहेको छ ।
तर, हालसम्म कुनै निकास ननिस्केको शिक्षक महासंघ बताउँछ । उसले आफ्ना माग सरकारले सम्बोधन नगरेसम्म सडक नछोड्ने अडान लिएको छ ।
महासंघको बलियो अडानले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने शिक्षकहरूको आन्दोलनलाई लक्षित गर्दै कठोर अभिव्यक्ति दिएका छन् ।
गत बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले शिक्षकको आन्दोलन गर्ने समय नरहेको जिकिर गरेका थिए ।
उनले कांग्रेस–एमाले लगायतका अन्य साना दलहरूको सत्ता गठबन्धनलाई अप्ठेरोमा पारेर शिक्षकले आन्दोलन गरेको आरोप लगाए । उनले भने, ‘यो आन्दोलनको बेला होइन । हुँदाहुँदा शिक्षकको आन्दोलन देखेर निजामतीले पनि आन्दोलन गर्छौँ भनिरहेका छन् । निजामती नै आन्दोलनमा गए शासन व्यवस्था के हुन्छ ? सरकारका सेनामेना सबै आन्दोलनमा जाने ? हामीले (शिक्षकहरूले) राजतन्त्र ल्याउन खोजेको हो त, सरकारलाई अप्ठेरो पारेर ? विद्यालयहरू सबै बन्द गरेर त्यो गर्न खोजेको ?’ उनले शिक्षकका मागप्रति सरकार संवेदनशील रहेको बताएका थिए ।
त्यसैगरी यहीँ बैशाख ५ गते कर्मचारी ड्रेड युनियनको मागसहित निजामती कर्मचारीहरूले प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको कार्यालय घेराउ गरेका थिए ।
















