काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने बताएका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए ।
उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्भाव खलबलाउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने बताए । ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ, यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ, चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो, अहिले संयुक्त सरकारका रूपमा हामीले काम गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने ।
उनले थपे, ‘हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन्, हामी समृद्ध र सिंगो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ, हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ, हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।’
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रति गरेको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने उनको भनाइ थियो ।
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं
प्रधानमन्त्री ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् ।
‘हामी ११ गते राजाले अधिकार खोसेको थियो । जनतालाई फेरि रैती बनाएको थियो । हिजो/अस्ति ०६३ साल वैशाख ११ गतेसम्म राजाले अधिकार खोसेर रैतीमा परिणत गरेको थियो । त्यसलाई परास्त गरेर जनताका अधिकार जनतामा ल्याएर विजय हासिल गरेको दिन थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस दिन हामीले महोत्सवको रुपमा युवा महोत्सव मनाउँदैछौं । त्यसमा हामी सबैको सहभागीताका लागि पनि आग्रह गर्न चाहन्छु ।’
साथै, उनले देशको विकास र समृद्धिका लागि एमाले कस्सिएर अघि बढेको दाबी पनि गरे । ‘अगुवाइ गर्न नेकपा एमाले कस्सिएको पनि छ । गरिरहेको पनि छ । नीतिगत कुरामा नेकपा एमाले एकदमै स्पष्ट छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ । राष्ट्रि नीति के गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ ।’
‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रुपमा हामी सरकारमा छौं,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताए ।
















