काठमाडौं-नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दो क्रममा छ, तर पछिल्लो समय हिरो इलेक्ट्रिक स्कुटरसँग सम्बन्धित समस्या गम्भीर बन्दै गएको छ। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई मोबिलिटी प्रा. लि. बाट आयात गरिएका स्कुटरहरूमा समस्या देखिएपछि देशभरका डिलरहरू हैरान भएका छन् भने ग्राहकहरूले जिल्ला प्रशासन कार्यालयसम्म धाउन थालेका छन्।
पाँच वर्षे वारेन्टी, दुई महिनामै बिग्रिने स्कुटर
लक्ष्मी ई मोबिलिटीले नेपालमा वितरण गरेका हिरो विद्युतीय स्कुटरमा पाँच वर्षे वारेन्टीको ग्यारेन्टीसहित बिक्री गरिएको थियो। कम्पनीले स्कुटर, ब्याट्री र मोटरमा वारेन्टी दिएको थियो भने एकपटक फुल चार्ज गर्दा १०० किलोमिटर गुड्ने दाबी गरिएको थियो। तर, धेरैजसो स्कुटर बिक्रीपछि दुई महिनामै बिग्रिन थाले।
वीरगञ्जका डिलर राजाबाबु शाहले हिरोका १० वटा स्कुटर बिक्री गरेका थिए। उनका अनुसार, स्कुटर बिक्री भएको छोटो समयमा नै चार्ज नटिक्ने, गति घट्नेजस्ता समस्या देखा परे। “२० किलोमिटर पनि गुड्न छाड्यो,” उनले भने, “कम्पनीलाई पटकपटक सम्पर्क गर्दा सुरुवातमा ब्याट्री फेर्ने भनियो तर अहिले फोन पनि उठाउँदैन, एसएमएस पनि हेर्दैन।”
शाहले लक्ष्मी ई मोबिलिटीबाट सन् २०२२ डिसेम्बर ८ मा डिलर लिएर ‘निहान ट्रेडर्स’ नामक स्कुटर सोरुम खोलेका थिए। उनले ३६ लाख लगानीमा सामान खरिद गरेका थिए भने १० लाख सोरुममा थप खर्च गरेका थिए। “अब ग्राहकले जिल्ला प्रशासनमा उजुरी दिएका छन्, मलाई हाजिर हुनुपर्ने अवस्था आएको छ,” उनले दुखेसो गरे।
चितवनमा पनि समस्या, ग्राहकले मागे कारबाही
यस्तै चितवनका ग्राहक अमित सिंहले परिवार र कर्मचारीका लागि एकैपटक ५ वटा हिरो स्कुटर किनेका थिए। “कम्पनीले १०० किलोमिटर चल्ने भनेको स्कुटर २० किलोमिटर पनि चल्दैन,” उनले भने, “न सेवा छ, न सुनुवाइ। यस्तो बेइमानी गर्ने कम्पनीमाथि सरकारले कारबाही गर्नुपर्छ।”
डिलर र ग्राहकहरूको साझा गुनासो के हो भने-कम्पनीले समस्या स्वीकार गरे पनि समाधानका लागि कुनै प्रयास गरेको छैन। ग्राहकको दबाबमा परेको डिलर समस्याको जवाफ दिन जिल्लाबाट जिल्ला धाउनुपर्ने बाध्यता छ।
कम्पनीको मौनता, कर्मचारीहरू बोल्न नसक्ने
लक्ष्मी ई मोबिलिटीकै एक कर्मचारीका अनुसार भारतमा स्कुटर उत्पादन गर्ने कम्पनी नै बन्द भएको छ। त्यसैले कम्पनीले अहिले कसैलाई स्कुटरको बारेमा बोल्न नदिएको हो। “डिलरको फोन आउँछ, समस्या सुनाउनुहुन्छ, तर हामीलाई केही बोल्न नपाउने भनिएको छ,” उनले नाम गोप्य राख्ने सर्तमा भने।
यस कम्पनीको मातृसंस्था लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ। तर, दुई वर्षअघि बिक्री गरिएको स्कुटरमा समस्या आउँदा समेत श्रेष्ठ नेतृत्वको कम्पनीले कुनै समाधान खोजेको देखिँदैन। श्रेष्ठसँग यस विषयमा सम्पर्क गर्न खोज्दा उनी उपलब्ध भएनन्।
कानुनी र नियामक व्यवस्था के भन्छ ?
नेपालमा सवारीसाधन आयात र बिक्रीमा स्पष्ट नियम छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र यातायात व्यवस्था विभागले आयातकर्ताले डिलरसँग गरेको सम्झौता पालना नगरे कारबाही गर्न सक्ने अधिकार राख्छन्।
वाणिज्य विभागका महानिर्देशक कुमार दाहाल भन्छन्, “डिलरले सम्झौताअनुसार सेवा नपाएको उजुरी विभागमा दर्ता गरेपछि विभागले अनुसन्धान गरी आवश्यक कारबाही गर्छ।”
यस्तै, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवका अनुसार, “उजुरी दिँदा सेवा सर्त पूरा नगरेको प्रमाण भए कारबाही हुन सक्छ।” साथै, उत्पादन गर्ने कम्पनी बन्द भए पनि नेपालमा बिक्री गरेको आयातकर्ताले यसको जिम्मा लिनैपर्ने व्यवस्था छ।
कम्पनीको गैरजिम्मेवारी र डिलरको संकट
नेपालमा सवारीसाधनको व्यवसायले ठूलो गति लिएको छ, तर नियमन र सेवा सुविधा सुनिश्चित गर्न राज्यका निकायहरू अझै कमजोर देखिन्छन्। लक्ष्मी ई मोबिलिटीको जस्तो ठूलो समूहले डिलर र ग्राहकको समस्या बेवास्ता गर्नु केवल व्यवसायिक असफलता मात्र होइन, सामाजिक बेइमानी पनि हो।
उद्योगीको नेतृत्वमा बसेका व्यक्तिहरूले यदि आफ्नै कम्पनीमा पारदर्शिता र जवाफदेहीता देखाउन सकेनन् भने, त्यो नेतृत्वको नैतिकता माथि पनि प्रश्न उठ्छ। हिरो स्कुटर प्रकरणले देखाएको छ। नेपालमा ‘ब्राण्डको नाम’ भन्दा पनि सेवा र जवाफदेहीताको मूल्य अझै स्थापित हुन सकेको छैन।























