काठमाडौँँ । नेपाल शिक्षक महासंघ र सरकारबीचको अनौपचारिक वार्ता आज सकिएको छ । बिहीबार वार्तामा शिक्षक महासंघले राखेका विषयमा थप छलफल गरिने मन्त्रालयले जनाएको छ । महासंघले आजको छलफलमा विभिन्न प्रश्न उब्जाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रष्ट पार्न ध्यानाकर्षणपत्र बुझाएको छ । मन्त्रालयमा भएको अनौपचारिक वार्तामा महासङ्घको प्रतिनिधि मण्डलले बिहीवार शिक्षामन्त्री विद्या भट्टराईलाई उक्त पत्र बुझाएको हो ।
सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथै पुराना सहमति र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाका सूचीसमेत बुझाएको छ । ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो ? लगायतका विषयमा स्पष्ट पार्न माग गरिएको छ ।
महासंघले सरकारसँग वार्ताको वातावरण निर्माणमा यी विषयमा प्रष्टता आवश्यक भएको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले छलफलमा आफ्ना एजेन्डा बुझाएको बताए । शिक्षकहरू चैत २० देखि सडक आन्दोलनमा छन् भने सोमवारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् । महासंघबाट प्राप्त ध्यानाकर्षण पत्रबारे आवश्यक छलफलपछि मात्रै निर्णय गर्ने मन्त्रालयले जनाएको छ ।





















