स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुभारम्भ गर्दै उनले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताएका हुन् ।
मन्त्री पौडेलले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोसिस सरकार रहेको बताए । उनले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गरे । उनले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताए ।
मन्त्री पौडेलले भने, ‘हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन सबै नेपालीलाई आवश्यक छ ।’
मन्त्री पौडेलले सरकारले बिरामी हुन नदिने उपायहरूको बारेमा खोजी गरिरहेको बताए । उनले सरकारले निरोगी नेपाली बनाउनेगरी अभियान सुरु गरिरहेको बताए ।


विश्व खबर 



















