काठमाडौँमा आन्दोलित शिक्षकहरूले अध्यादेशबाट भएपनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।
बिहीबारको प्रदर्शनका क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनीहरूले सरकारले आफ्ना मागहरू पूरा गर्न अध्यादेशबाट भएपनि नयाँ शिक्षा ऐन ल्याउनुपर्ने उनीहरूले बताएका हुन् । उनीहरूले सरकारले हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक सदनमा ल्याउने भनेपनि नल्याएको बताए ।
प्रदर्शनमा सहभागी शिक्षक भूपेन्द्रनाथ अधिकारीले समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आफूहरू आएको र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गरे । उनले अब आउने शिक्षा ऐनले विद्यार्थी, अभिभावकको र शिक्षकको समस्या हल गर्नुपर्ने बताए ।
उनले भने, ‘समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आएका हौँ । शिक्षा ऐन जारी गरियोस् । शिक्षा ऐन नहुँदा अहिलेको ७५३ वटै पालिकामा फरक फरक किसिमको शिक्षा प्रदान भइरहेको छ । त्यसलाई एउटै बनाउन र २०२८ सालको शिक्षा ऐनबाट शासित हुन गाह्रो भएको छ ।’
प्रदर्शनमा सहभागी शिक्षक शिवलाल बरालीले सरकारले अध्यादेशबाट भएपनि नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने माग गरे । उनले अहिलेको शिक्षा ऐनले सार्वजनिक शिक्षा सुधार गर्न नसकेको र नयाँ शिक्षा ऐन सार्वजनिक शिक्षा सुधार हुने किसिमको आउनुपर्ने बताए ।
उनले भने, ‘नयाँ शिक्षा ऐन जारी गर्न र हाम्रो शिक्षक हक, अधिकारको लागि माइतीघरमा आएको हो । शिक्षा ऐन पुरानो भयो, यसले नयाँ प्रविधिलाई समेट्न सकेन । सार्वजनिक शिक्षा सुधार हुने किसिमको प्रविधिमैत्री शिक्षा ऐन हुनुपर्छ । पुरानो ऐनले अहिलेको शिक्षामा परिवर्तन भएको छैन ।’
त्यस्तै अर्का शिक्षक हेमलाल घिमिरेले सरकार र शिक्षक महासंघबीच पटक पटक सहमति भएको बताउँदै २०७५, २०७८ र २०८० सालमा शिक्षक महासंघ र सरकारबीच सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने बताए । देशमा शैक्षिक गुणस्तर वृद्धिको निमित्त, दक्ष जनशक्ति नेपालमै रहनको निमित्त नयाँ शिक्षा ऐन जरुरी रहेको उनले बताए ।
उनले भने, ‘सरकार र शिक्षक महासंघबीच पटक पटक सहमति भएको छ । २०७५, २०७८ र २०८० सालमा शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । संघीय ऐन जारी होस् ।’
अर्का शिक्षक रुद्रबहादुर वलीले विगतमा शिक्षक महासंघसँग भएका सम्झौता सम्बोधन हुनेगरी नयाँ शिक्षा ऐन जारी हुनुपर्ने माग गरे । उनले भने, ‘विगतमा सरकारसँग भएका सम्झौता सम्बोधन हुनेगरी नयाँ शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन आएका हौँ । हाम्रा समस्या धेरै छन् । तत्कालको लागि हाम्रा नयाँ माग छैनन् ।’
शिक्षकहरूले शिक्षाको स्थिति नाजुक रहेको र अब आउने शिक्षा ऐन प्रविधिमैत्री हुनुपर्ने धारणा राखेका छन् ।























