images
images
  • काठमाडौँ महानगरमा प्रशासनिक संकट : मेयर बालेन  सम्पर्कविहीन, उपप्रमुख डंगोलको चेतावनी

    काठमाडौँ महानगरपालिकामा प्रशासनिक गतिरोध उत्पन्न भएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ ३ महिना १४ दिनपछि कार्यालय पुगेका छन् । तर मेयर बालेन शाहले उनको कार्यकक्षमा तालाबन्दी गरेर सम्पर्कविहीन भएको बताइएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई महानगरपालिकामै हाजिर गराउने वातावरण बनाउन पत्र पठाएको एक महिनापछि उनी कार्यालय पुगेका थिए । तर, नगर प्रहरीले उनलाई अवरोध गर्ने प्रयास गरे पनि उनी कार्यालय प्रवेश गर्न सफल भए ।

    डंगोलको कडा प्रतिक्रिया
    उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू, र कार्यपालिका सदस्यहरू गुरागाईँको समर्थनमा उभिएका छन्। उनले मेयर शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिँदै भनिन्, “जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लीन हुनुपर्छ। हाजिर गराउन मन्त्रालयले निर्देशन दिइसकेको छ, यस्तो झडप हुनु राम्रो होइन।”

    उनले प्रशासनिक गतिरोधले हजारौँ कर्मचारी र लाखौँ काठमाडौँवासीलाई असर पारेको भन्दै समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिइन्। “क्यान्सरपीडितलाई समेत राहत दिन सकेका छैनौँ। अझै छानबिन गर्नुपर्ने भए गरौँ, तर यसरी पीडामा राख्नु हुँदैन,” उनले भनिन्।

    नगरप्रहरीको स्पष्टीकरण
    नगरप्रहरी प्रमुख राजु पाण्डेले कार्यकक्षमा तालाबन्दीको कारण सोध्दा मेयर शाहको मौखिक आदेश रहेको बताएका छन्। उपप्रमुख डंगोलले यस कदमलाई अनैतिक र गैरजिम्मेवार भएको बताउँदै तत्काल समाधानको माग गरिन्।

    वडाध्यक्षहरू आक्रोशित
    महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसहित धेरै वडाध्यक्षहरूले पनि मेयर शाहको आलोचना गरे। उनीहरूका अनुसार, प्रशासनिक अवरोधले महानगरवासीलाई सेवाबाट वञ्चित गरिरहेको छ।

    काठमाडौँ महानगरपालिकामा देखिएको यो गतिरोधले स्थानीय प्रशासनमा गम्भीर प्रश्न उठाएको छ। आगामी दिनमा यो विवाद कसरी सल्टिन्छ भन्ने प्रतीक्षा गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images