images
images
  • पञ्जाबसँग लखनऊ ८ विकेटले पराजित

    काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ।

    गएराति भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनऊ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो। लखनऊले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६ दशलमव २ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।

    पञ्जाबको जितमा ओपनर ओपनर प्रभसिमरन सिंहले ३४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडे। प्रभसिमरनले दोस्रो विकेटका लागि कप्तान श्रेयस ऐरसँग मिलेर ८४ रनको साझेदारी गरे। कप्तान ऐर ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रनमा नट आउट रहे।

    तेस्रो विकेटका लागि कप्तान ऐर र नेहाल बढेराले ६७ रनको विजयी साझेदारी गरे। नेहालले २५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४३ रनमा नट आउट रहे। ओपनर प्रियासं आर्य ८ रनमा आउट भए। लखनऊका लागि दुवै सफलता दिग्वेश राठीले दिलाए।

    त्यसअघि लखनऊस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार गरेको थियो।

    लखनऊका लागि निकोलस पुरनले ३० बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडेका थिए। आयुष बदोनीले ३३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाएका थिए। अब्दुल समाद १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २७ रनमा आउट भए। ओपनर एडेन मारक्रम १८ बलमा २८, डेबिड मिलर १८ बलमा १९ तथा कप्तान ऋषभ पन्त २ रनमा आउट भए।​

    पञ्जाबका लागि अर्शदिप सिंहले ३ तथा लकि फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिए।

    लगातार दोस्रो जितका साथ पञ्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो।

    यस्तै, पराजित लखनऊले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ। लखनऊ ३ खेलमा २ अंकका साथ तालिकाको छैठौं स्थानमा छ। दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनऊले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो।

    प्रतियोगिता अन्तरगत आज रोयल च्यान्जर्स बैंगलुरुले गुजरात टाइटन्ससँग बैंगलुरुमा राति पौने ८ बजे खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images