राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्को हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले रास्वपाको बुझाइमा चुनौतीपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाइन् । उनले कानुन निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासमा स्वभाविक रूपमा अलिकति अगाडि बढेको महसुस आफूहरूले गरेको बताइन् । उनले रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बनको प्रक्रियालाई लिएर नियन्त्रणमुखी महसुस गरेको बताइन् ।
उनले भनिन्, ‘यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतीपूर्ण हामीले देख्यौँ । कानुन निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासमा स्वभाविक रूपमा अलिकति अगाडि बढेको महसुस भयो । अन्यथा धेरै विषयहरू अलि नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भए भन्ने बुझाइ छ ।’
उनले नेपालमा सबै विषयवस्तुलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने गरिएकोप्रति आपत्ति जनाइन् ।






















