काठमाडौं : मियामी ओपन टेनिसको उपाधि १९ वर्षीय ज्याकुब मेन्सिकले जितेका छन्।
चेक गणतन्त्रका १९ वर्षीय ज्याकुब मेन्सिकले फ्लोरिडाको मियामी गार्डेनमा पुरुष एकलको फाइनलमा टेनिस लिजेन्ड नोभाक जोकोभिचलाई पराजित गरे।
पहिलो चरणको खेलभन्दा केही घण्टा अगाडि घुँडाको चोटका कारण नाम फिर्ता लिने लगभग पक्का भएका किशोर ज्याकुब मेन्सिकले उनको बाल्यकालका आदर्श नोभाक जोकोभिचलाई हराउँदै मियामी ओपन जितेका हुन्। उनले ७–६ (७–४) ७–६ (७–४) ले पराजित गर्दै पहिलो एटीपी टुर उपाधि जितेका हुन्।
२४ पटकका ग्रान्ड स्लाम च्याम्पियन जोकोभिच १०० एकल उपाधि जित्नबाट बञ्चित भए।
वर्षाका कारण ढिलाइ भएको फाइनल खेलमा वरियताको २४औं नम्बरमा रहेका मेन्सिकले यसअघि शीर्ष वरीयताका खेलाडीहरूलाई स्तब्ध पारेका थिए। जसमा टेलर फ्रिट्जमाथिको क्वार्टरफाइनल जित पनि समावेश थियो।
मेन्सिकको जितले उनी कार्लोस अल्काराज पछि इतिहासको दोस्रो सबैभन्दा कान्छो मियामी ओपन उपाधि विजेताको रूपमा रहेका छन्।


विश्व खबर 


















