images
images
  • राष्ट्रसेवक कर्मचारीहरूको गुण–दोष टिप्पणी गर्ने स्थल संसद् होइन : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीहरूको गुण–दोष टिप्पणी गर्ने स्थल संसद् नभएको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले केही दिन यता संसदअवरुद्ध रहेको भन्दै एकजना कर्मचारीको विषयमा प्रश्न उठाएर संसद् अवरुद्ध गर्न नमिल्ने बताए । उनले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले नै निर्धारण गरेको बताए । कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम नगर्ने बताए ।

    कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल नगरेको खण्डमा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गर्न सकिने बताए ।

    नेकपा (माओवादी केन्द्र)ले केही दिनयता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । माओवादी केन्द्रले घिसिङलाई हटाएको बारेमा प्रधानमन्त्रीले संसदमा आएर चित्त बुझ्दो जवाफ नदिएसम्म संसद् अवरोध जारी रहने अडान राख्दै आएको थियो । आज प्रधानमन्त्रीले जवाफ दिएसँगै संसद्को कारबाही अघि बढेको छ ।

    प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रसेवक कर्मचारीहरूको गुण÷दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ । यत्ति चाहिँ भनौँ, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला । त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिन्छ । यो अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ ।’

    प्रधानमन्त्री ओलीले अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय भएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images