images
images
  • राजस्थानसँग चेन्नई स्तब्ध, हैदराबादको दोस्रो हार

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले यस सिजनको पहिलो जित हात पारेको छ। पहिलो दुई खेलमा पराजित राजस्थानले आइतबार चेन्नई सुपर किंग्सलाई ६ रनले हरायो।

    पहिलो खेल जितेको चेन्नई त्यसयता लगातार दोस्रो खेलमा पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ८२ रन बनाएको थियो।​

    नितिश रानाले ३६ बलमा ८१ रन जोडे। प्लेयर अफ द म्याच उनले १० चौका र ५ छक्का प्रहार गरे। कप्तान रियान परागले २८ बलमा समान २ चौका र छक्कासहित ३७, सञ्जु सामसनले २० र सिम्रोन हेटमायरले १९ रन बनाए। चेन्नईका खलिल अहमद, नुर अहमद र माथिशा पाथिरानाले २–२ विकेट लिए।

    जवाफमा आएको चेन्नईले ६ विकेट गुमाई १ सय ७६ रन मात्र बनाउन सक्यो। कप्तान रुतुराज गायकवडले ४४ बल खेली ७ चौका र १ छक्कासहित ६३ रन बनाए।

    राहुल त्रिपाठी १९ बलमा २३, शिवम दुबे १० बलमा १८, महेन्द्रसिंह धोनी ११ बलमा १६ रन बनाई आउट भए। रवीन्द्र जडेजा २२ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ र जेमी ओभरटन ४ बलमा ११ रन बनाई अविजित रहे।

    जोफ्रा आर्चरले पहिलो ओभरमै रचिन रवीन्द्रलाई आउट गरी राजस्थानलाई राम्रो सुरुआत दिलाएका थिए। आर्चरले ३ ओभरमा १३ रन मात्र खर्चे। वानिन्दु हसरंगाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए।

    आइतबारनै भएको पहिलो खेलमा सनराइजर्स हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ।

    हैदराबाद दिल्ली क्यापिटलसँग ७ विकेटले पराजित भयो। टस जितेर ब्याटिङमा आएको हैदराबादले विशाखापटनममा पावर प्लेभित्र ४ विकेट गुमाइसकेको थियो। तर उनीहरूको आक्रामक खेल्ने शैलीमा परिवर्तन आएन। ६ ओभरको समाप्तिमा ५८–४ को स्थितिमा रहेको हैदराबाद १० ओभरमा १०५–४ को स्थितिमा पुगेको थियो।

    हैदराबादको इनिङ्स १८ दशमलव ४ ओभरमा १ सय ६३ रनमा पुगेर टुंगिएको थियो। अनिकेत बर्माले ४१ बलमा ७४ रन बनाएपछि मात्र हैदराबाद त्यो स्थितिमा पुगेको थियो। उनले ५ चौका र ६ छक्का प्रहार गरे। हेनरिक क्लासेनले १९ बलमा समान २ चौका र छक्कासहित ३२, ओपनर ट्राभिस हेडले १२ बल खेली ४ चौकासहित २२ रन बनाए।

    हेडसँग समन्वय मिलाउन नसक्दा उनका ओपनिङ जोडी अभिषेक शर्मा १ रनमा रनआउट भए। मिचेल स्टार्कले हेडसहित ईशान शर्मालाई २ र नितिशकुमार रेड्डीलाई शून्यमा आउट गरी खेल दिल्लीको पक्षमा ल्याएका थिए। प्लेयर अफ द म्याच स्टार्कले ३ दशलमव ४ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिए। देब्रेहाते स्पिनर कुलदीप यादवले ४ ओभरमा २२ रन मात्र खर्चेर ३ विकेट लिए।

    फाफ डु प्लेसिस र ज्याक फ्रेजर म्याकगुर्कले पहिलो विकेटमा ९ ओभरमा ८१ रन जोडेपछि दिल्लीले १६ ओभरमै १ सय ६६ रन बनायो।

    डु प्लेसिस १० औं ओभरको पहिलो बलमा ५० रनमा आउट भए। उनले २७ बल खेली समान ३ चौका र ३ छक्का प्रहार गरे। म्याकगुर्कले ३२ बल खेली ४ चौका र २ छक्का प्रहार गरी ३८ रन बनाए। दिल्लीबाट पहिलो म्याच खेलिरहेका केएल राहुल ५ बलमा २ चौका र १ छक्का प्रहार गरी १५ रनमा आउट भए।

    अभिषेक पोरेल १८ बलमा समान २ चौका र छक्कासहित ३४ तथा ट्रिस्टन स्टब्स १४ बलमा ३ चौका प्रहार गरी २१ रनमा अविजित रहे। दिल्ली यस सिजनको पहिलो दुवै खेल जित्ने दोस्रो टोली भएको छ।

    रोयल च्यालेन्जर बेङ्लुरुले पनि पहिलो दुवै खेल जितेको छ।

    प्रतियोगतामा आज मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्सबीचको खेल राति पौने ८ बजे बाङ्खडेमा हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images