नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ ।
आइतबार बिहान पुरातत्त्व विभागले मूर्तिहरूलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो । यीमध्ये तीनवटा पौवा चित्रहरू (१५–१८ औँ शताब्दी)का रहेका छन् । यी पौवा चित्रहरू काठमाडौँस्थित इटुम्बहालबाट विसं २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औँ शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२(१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९औँ शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगेपनि नेपाली सम्पदाको महत्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताए । अब नेपालबाट मूर्तिहरू चोर्ने कुचेष्ठा गर्न नसक्ने उनले बताए । विगतमा गएका चिजहरु अहिले फर्किनु पनि सकारात्मक रहेको जिकिर उनले गरे ।
अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्त्विक महत्वका मूर्तिहरू तथा कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् । अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशहरुबाट थप अरु केही कलात्मक वस्तुहरू फिर्ताको लागि कूटनीतिक पहल भइरहेको छ ।
संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्त्विक महत्त्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।























