तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको झडपपछि लागेको आगलागीमा परेर एक पत्रकारको मृत्यु भएको छ।
मृतक एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेको पुष्टि भएको छ। प्रदर्शनको रिपोर्टिङ गर्न गएका बेला उनी भवनको छतमा चढेर दृश्य खिचिरहेका थिए। आगलागीपछि उनी सम्पर्कविहीन भएका थिए।
शुक्रबार दिउँसो तीनकुनेमा राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शन प्रहरीसँगको झडपपछि उग्र बनेको थियो। झडपकै क्रममा एक भवनमा आगजनी भएको थियो।
रजक उक्त भवनको छतबाट प्रदर्शनको दृश्य खिचिरहेका थिए। तर, आगलागी भएपछि उनी बेपत्ता भए। एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले घटनापछि पत्रकार सुरेश रजक सम्पर्कविहीन भएको जानकारी दिएका थिए।
उनले भने:”रिपोर्टिङमा गएका साथी सम्पर्कविहीन हुनुहुन्छ। अस्पतालतिर पनि भएको जानकारी छैन।”
आगलागी नियन्त्रणका लागि प्रहरी र दमकल परिचालित भए पनि भवनभित्र फसेका रजकलाई समयमै उद्धार गर्न सकिएन। पछि आगो निभेपछि खोजी गर्दा उनको जलेको शव फेला परेको प्रहरीले जनाएको छ।























