images
images
  • तिनकुनेमा राजावादी प्रदर्शन उग्र, सेना परिचालन गर्दै कर्फ्यु आदेश जारी

    काठमाडौँको तिनकुने क्षेत्रमा शुक्रबार राजावादी प्रदर्शन उग्र बनेपछि प्रशासनले सेना परिचालन गरेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा तिनकुने क्षेत्र अशान्त बनेको छ। अवस्था नियन्त्रण बाहिर जान थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले सुरक्षा व्यवस्था कडा पार्दै सेना खटाउने निर्णय गरेको हो।

    प्रदर्शन उग्र, आगजनी र तोडफोड

    शुक्रबार दिउँसो तिनकुने क्षेत्रमा राजावादी समूहले प्रदर्शन गरेका थिए। उनीहरूले राजसंस्थाको पुनःस्थापनाका लागि नाराबाजी गर्दै जुलुस निकालेका थिए। प्रदर्शनक्रममा केही समूहले उग्र रूप लिँदै स्थानीय व्यवसायिक भवन, कार्यालय र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका छन्।

    स्थिति जटिल बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारी झन् आक्रामक बनेका थिए। झडपका क्रममा केही व्यक्तिहरू घाइते भएका छन् भने के कति संख्यामा क्षति पुगेको छ भन्ने विस्तृत विवरण आउन बाँकी छ।

    सेना परिचालन र कर्फ्यु आदेश

    झडपलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग गरेपछि झनै तनाव सिर्जना भएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, स्थिति नियन्त्रण बाहिर जान थालेपछि सेना परिचालन गर्नुपरेको हो।

    यसैबीच, काठमाडौँ प्रशासनले तिनकुने आसपासका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार, कर्फ्यु आदेश आज अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म लागू हुनेछ।

    कर्फ्यु लागू हुने क्षेत्रहरू

    प्रशासनले निम्न क्षेत्रलाई कर्फ्यु क्षेत्र घोषणा गरेको छः

    गौशालादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    गैरीधारा, तिनकुने हुँदै कोटेश्वर क्षेत्र

    कोटेश्वरदेखि जडिबुटी पुलसम्म

    बानेश्वरचोकदेखि शंखमुल पुलसम्म

    गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म

    प्रशासनले अत्यावश्यक सेवाबाहेकका सबैलाई यी क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएको छ।

    सरकारको आपतकालीन बैठक

    घटनालाई गम्भीर रूपमा लिँदै सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ। यस बैठकमा तिनकुने घटनाबारे छलफल गर्दै सुरक्षा रणनीति बनाइने बताइएको छ।

    सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई संयम रहन र झडप क्षेत्रतर्फ नजान आग्रह गरेका छन्। प्रशासनले तोडफोड तथा आगजनी गर्ने दोषीहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images