ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कर्मचारीबिच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबिच होडबाजी चलिरहेको बताएका हुन् ।
मन्त्री खड्काले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिस्पर्धा गर्न आग्रह समेत गरे । उनले कर्मचारीहरूले कानुन र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत दिए । उनले मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत सबैको ध्यानाकर्षण गराए ।
उनले भने, ‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहिँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ । प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहिँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कही पुर्याउँदैन । साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौँ मेरो आग्रह छ ।’
मन्त्री खड्काले सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्याउने लक्ष्यसहित काम गरिरहेको बताए । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ ।























