नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि पुनः जालझेल भएको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् अघि बढ्न नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज रूपमा लिनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरू टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए । आफू सिंहदरबारबाट निस्किएलगत्तै मन्त्रीपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उनको भनाइ छ ।
उनले भने, ‘प्रधानमन्त्रीले आएर रोष्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, जालझेलको भयो भने आन्दोलन अघि बढ्छ । ’
अध्यक्ष प्रचण्डले उक्त कुराले आफूलाई पुनः स्वर्ग र नर्क सम्झाएको बताए ।






















