प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बुधबार आधा घण्टाको लागि स्थगित भएको बैठक फेरि सुरु भएपनि प्रतिपक्षी दलहरुले बैठकमा अवरोध कायमै राखे ।
प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै संसद् अवरुद्ध पारेका हुन् । कुलमानको बर्खास्तीबारे रोष्ट्रमबाट प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । घिसिङलाई कार्यकारी निर्देशकबाट पदमुक्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको माग छ । चित्तबुझ्दो जवाफ नआए फेरि बैठक अवरोध कायमै राख्ने उनीहरूको जिकिर छ ।
२०७८ साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुक्ति बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।






















