प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारले नेपाल विद्युत् प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकको सुरुमा बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले यस्तो आरोप लगाएका हुन् ।
सांसद बस्नेतले कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत् प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पिने भएको आरोप लगाए । उनले वर्तमान सरकार स्वार्थ समूहको पृष्ठपोषण र वैशाखीमा निर्माण भएकै कारण बिचौलियाको हित र रक्षाको निम्ति समर्पित भएको समेत टिप्पणी गरे । सरकारले आफ्नो दुई तिहाइको सामर्थ्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न प्रदर्शन गरिराखेको उनको आरोप छ ।
उनले भने, ‘सरकार स्वार्थ समूहहरूको पृष्ठपोषण र बैसाखीमा निर्मित भएको कारणले स्वार्थ समूह र बिचौलियाहरूको हित र रक्षाको निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनिरहेको छ । लोकतन्त्रमा संख्या महत्त्वपूर्ण कुरा हो । तर संख्याका पहाडहरू जनचाहानाका सामु गल्र्याम्गुर्लम ढलेका इतिहासहरू र अनुभवहरू हाम्रै वरिपरि छन् । सरकारले यसतर्फ ध्यान दिइराखेको छैन । यतिबेला सरकारले आफ्नो दुई तिहाइको सामर्थ्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न र एउटा सार्वजनिक संस्थामाथि आफ्नो सामर्थ्य प्रदर्शन गरिराखेको छ ।’
सरकार एकपछि अर्को विवादित निर्णय गर्दै आफ्नो औचित्य गुमाउँदै गइरहेको उनको आरोप छ । उनले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै आफ्नो अभिव्यक्ति टुंग्याए ।























