प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए । उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहरुले विरोध सुरु गरिसकेको बताए । आफूले आइडोलोजी नभइ देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिन, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन् । देश साझा हो । तरिका सोचहरू फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्नेकुरा हो । ससाना कुराहरु । तिलको पहाड बनाएका छन् । पहिला पहिला तिलका पहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन भन्दै प्रश्न गरे । उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्षित गर्दै एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गरे । लोकतन्त्र दुनियाँको सबैभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने उनले बताए ।























