स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् । मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ्ग कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरूमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य राखेको उल्लेख गरे । स्त्रिनिङ्गको कार्यक्रम स्थानीय तहसम्म पुर्याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रुपमा सञ्चालन गरेको समेत बताए । उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरुलाई एचपीभि खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ ।
उनले भने, ‘यो स्क्रिनिङ्गको कार्यक्रम पनि हामीले स्थानीय तहमै पुर्याउन सक्यौँ भने मात्रै हामीले भनेजस्तो ५० लाख नागरिकको स्त्रिनिङ हुनसक्छ । हामीले फागुनको महिनालाई स्क्रिनिङको महिना भने घोषणा गर्यौँ । यो अभियानमा एचपीभि खोप एकदमै सफल भयो । ९४ प्रतिशतले एचपीभि लगाउनुभएको छ । त्यसकारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने भनेको स्थानीय तह नै । त्यसकारण हामीले स्थानीय तहमा स्क्रिनिङ्ग कार्यक्रम गर्यौँ भने यो कार्यक्रम सफल हुनसक्छ ।’
कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलल क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताइन् । उनले महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौँ महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् । उनले महानगरवासीको सहजताका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र र हेल्थ क्याम्पहरु आयोजना गर्ने कामहरु भइरहेको बताइन् ।
नेपाल तथा विकासशील मुलुकहरुमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ ।























