स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए । उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्बन गर्न जरुरी रहेको बताए । खर्च गर्ने शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाए ।
मन्त्री पौडेलले भने, ‘अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ ढंगबाट, प्रभावकारी ढंगबाट जाने स्थिति बनाउनु पर्छ । खुला सीमानाका कारणले पनि समस्या भएको छ । त्यसमा पनि हामीले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्बन गर्नुपर्छ । खर्च भइरहेको छ । शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक छ ।’
मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताए । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने उनले बताए ।























