नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका लागि नयाँ प्रमुख प्रशिक्षकको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगाएको छ । क्यानले भारतका मोन्टी देसाइको कार्यकाल सकिएपछि गत फागुन ३ गते नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो ।
७० भन्दा बढी आवेदकहरूमध्ये सात जनालाई सर्ट लिस्ट गरी अन्तरवार्ता चलिरहेको छ । क्यानका अनुसार प्रधानमन्त्री कपको समाप्ति पछि नयाँ प्रशिक्षक नियुक्ति हुने छ ।
सर्ट लिस्टमा रहेका तीन प्रमुख नामहरू अष्ट्रेलियाका देव ह्वाटमोर, भारतका वसिम जाफर र वेस्ट इन्डिजका शिवनारिन चन्द्रपल छन् । ह्वाटमोरले नेपालका लागि अघिल्लो पटक २०७७ मा प्रशिक्षकको भूमिका सम्हालेका थिए । चन्द्रपल वेस्ट इन्डिजका पूर्व प्रमुख ब्याट्सम्यान हुन् भने जाफर बंगलादेशको ब्याट्सम्यान प्रशिक्षकको अनुभव राख्छन् ।
नेपालको एकदिवसीय मान्यता बचाउनको लागि क्यान नयाँ प्रशिक्षक नियुक्त गर्नमा गम्भीर रहेको छ । विशेषगरी विश्वकप लिग २ मा नेपालको स्थिति चुनौतीपूर्ण बनिसकेको छ ।


विश्व खबर 


















