images
images
  • प्रेस चौतारी नेपालको १०औँ महाधिवेशन: नेतृत्वका लागि राई र पाण्डेबिच कडा प्रतिस्पर्धा

    नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल को १०औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

    हालसम्म उपाध्यक्षद्वय राजेश राई र गणेश पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । संगठनका महासचिव हिरामान लामा पनि उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ ।

    उम्मेदवारी घोषणा : सामाजिक सञ्जालदेखि संगठनभित्रको कसरत
    उपाध्यक्ष राईले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै आफू सर्वसम्मत नेतृत्व वा प्रतिस्पर्धामार्फत अध्यक्ष बन्न सक्षम रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्,”अहिलेसम्म पार्टी नेतृत्व वा संगठनबाट कुनै औपचारिक निर्देशन आएको छैन । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ भन्छ ।”

    यस्तै, अर्का उपाध्यक्ष गणेश पाण्डे महिनौँदेखि अध्यक्ष पदका लागि दौडमा रहेका थिए। एमाले सचिवालय बैठकले उनलाई पार्टीको प्रचार विभाग सचिव नियुक्त गरेपछि चौतारीको अध्यक्ष पदका लागि उनको मार्ग फराकिलो बनेको चर्चा चलेको थियो । तर, प्रमुख पदमा दोहोरो जिम्मेवारी राख्न नहुने पार्टी नीतिअनुसार उनले प्रचार विभाग सचिव पदबाट राजीनामा दिएका छन् ।

    किन दिए पाण्डेले राजीनामा?
    चौतारीको अध्यक्ष बन्नकै लागि पाण्डेले उच्च पद त्यागेको देखिन्छ। उनले राजीनामा पत्रमा भनेका छन्,
    “झन्डै १० वर्षदेखि चौतारीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहँदै आएको छु। चौतारीको महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार भएकाले दोहोरो जिम्मेवारीमा नरहने निर्णय गरेको छु।”

    यसबाहेक, पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाण्डेले पाएको आङ्कलन गरिएको छ। ओलीको चाहना पाण्डेलाई चौतारीको अध्यक्ष बनाउनु रहेको चर्चा चलेको छ। पाण्डेलाई प्रचार विभाग सचिव बनाउँदा ओलीलाई गलत रिपोर्ट पुगेको भन्दै केही नेतासँग असन्तुष्टि रहेको बताइन्छ।

    तर, अर्का प्रत्याशी राजेश राईले आफूलाई मदन भण्डारीको प्रतिस्पर्धा र पहलकदमीको सिद्धान्त अनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले चौतारीलाई प्रतिस्पर्धामार्फत उत्कृष्ट नेतृत्व दिनुपर्ने बताएका छन्।

    राई र पाण्डेबिच कडा प्रतिस्पर्धा हुने संकेत

    राई र पाण्डे अघिल्लो महाधिवेशनमा पनि अध्यक्ष पदका आकांक्षी थिए । तर, गणेश बस्नेत अध्यक्ष बनेपछि दुवै जना उपाध्यक्ष बनेका थिए । यसपटक भने उनीहरूबिचको प्रतिस्पर्धा अझ चर्किएको छ।

    २०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपाल मा हाल सात हजारभन्दा बढी पत्रकार संलग्न छन्। महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले संगठनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images