images
images
  • गणतन्त्र स्थापना गर्न पूर्वराजाले भिलेनको रूपमा सहयोग गरे : अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना गर्न पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रूपमा सहयोग गरेको टिप्पणी गरेका छन् । आज राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  ज्ञानेन्द्रले मूर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन् ।

    ‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्र, अहिले त पूर्वराजा भन्ने गरिएको छ । हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पार्‍यौँ । ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो,’ प्रचण्डले भने, ‘उनले धेरै मूर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो । भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण भूमिका छ ।’

    अध्यक्ष प्रचण्डले अहिले राजतन्त्र पुनःस्थापनाको कला विहीन नाटक प्रदर्शन भइरहेको बताए । उनले अहिले नेपालको संविधान संशोधन नभई समीक्षा गर्ने बेला भएको बताए ।

    ‘मैले विभिन्न मञ्चबाट अब संविधानबारे समीक्षा बहस सुरु गरौँ यो समीक्षा सबै राजनीतिक दल, सबै राजनीतिक शक्तिहरू सहभागी भएर समीक्षा गरौँ भनिरहेको छु,’ उनले भने, ‘जसले संविधान सभाबाट संविधान घोषणा गर्ने झन्डै ७० वर्ष पुरानो एजेण्डालाई स्थापित गरेका थिए । ती सबै शक्तिहरू एक ठाउँमा आएर समीक्षात्मक बहस सुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्छ । यसको निम्ति म सबैलाई आग्रह गर्दछु ।’

    अध्यक्ष प्रचण्डले अहिले भिलेनको रूपमा राजावादीहरू सक्रिय भएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images