images
images
  • काठमाडौँ उपत्यकाका ८ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    काठमाडौँ उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत २२ क्याम्पसहरूमध्ये ८ वटामा निर्वाचन रोकिएको हो ।

    रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) र अमृत साइन्स क्याम्पसमा अन्तिम समयमा आएर स्ववियु निर्वाचन स्थगित भएको छ । तालाबन्दीका कारण निर्वाचन रोकिएको हो जनाइएको छ ।

    आरआरमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालाबन्दी गरेपछि अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको छ । त्यस्तै अमृत साइन्स क्याम्पसमा भने अखिल क्रान्तिकारीले होस्टेलको विषयलाई लिएर विवाद सिर्जना गर्दै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको हो ।

    ति बाहेक सरस्वतीमा अनेरास्ववियू लगायतको तालाबन्दीका कारण निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन् । त्यस्तै विश्वभाषामा समेत अखिल क्रान्तिकारीको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको छ ।

    नेपाल ल क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी छ । जसले गर्दा निर्वाचन स्थगित भएको छ ।

    शंकरदेवमा अखिल क्रान्तिकारी लगायतको तालाबन्दीका कारण चुनाव हुन सकेन । त्रिचन्द्र र पब्लिक युथ क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।

    त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा ८ गतेका लागि निर्वाचन सरेको छ । पद्मकन्या क्याम्पस बागबजारमा समेत ७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

    ति बाहेक थापाथली इन्जिनियरिङ कलेज, सानोठिमी बहुमुखी क्याम्पस, आयुर्वेद क्याम्पस, जनप्रशासन क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, नेपाल कर्मस क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, ललितकला क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा निर्वाचन जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images