राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले सरकारले यौन व्यवसायलाई अनुमति दिन लागेको हो भन्दै प्रश्न गरेका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न लागेको हो भन्दै प्रश्न गरेका हुन् ।
आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने बताएका थिए । यसैमा सिंहले आपत्ति जनाएका हुन् ।
‘देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले । यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन ?’ उनले सोधे ।
सांसद सिंहले नेपाल देव भूमि भएको भन्दै यस्ता व्यवसाय सञ्चालनका लागि नै गणतन्त्र ल्याएको हो भनेर प्रश्न गरे ।






















