images
images
  • नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

    गोरखा– गोरखाको शहीद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा ५२५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।

    नेपाली सेना रिपुमर्दन गण र शहीद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

    शिविरमा तीन सय ५८ जना महिला र एक सय ६७ जना पुरुषले स्वास्थ्य जाँच गराएको उनको भनाइ छ । उपचार सेवा लिएकामध्ये ४१ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व पहिचानका लागि पाठेघरको क्यान्सर स्क्रिनिङ (भीआईए) परीक्षण गराइएको थियो ।

    भीआईए परीक्षण गराइएकामध्ये चार जनामा भने क्यान्सरको जोखिम भएको पाइएको प्रमुख श्रेष्ठको भनाइ छ । उनीहरूलाई पहिलो चरणमा थर्मोक्रोवुलेसन (सेकाइ) विधिबाट उपचार थालिएको र फलोअपको लागि व्यवस्था मिलाइएको छ ।

    त्यस्तै शिविरमार्फत एक सय ४९ जनाले हाडजोर्नीसम्बन्धी उपचार सेवा लिए भने दुई सय ५४ जनाले अन्य विभिन्न रोगको जाँच गराएको उनले बताए । शिविरमा १० जनाले दन्त उपचार, ९० जनाले स्त्रीरोगसम्बन्धी उपचार, २२ जनाले छाला रोगसम्बन्धी उपचार र ७३ जनाले प्रयोगशाला सेवा लिएका छन् ।

    उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको प्रमुख श्रेष्ठले बताए । उनले शिविरमा हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, जनरल ओपिडी परीक्षणदेखि लिएर निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको बताए ।

    शिविरमा करिब तीन लाख रुपैयाँभन्दा भन्दा बढीको औषधि बिरामीलाई वितरण गरिएको थियो । लायन्स क्लब अफ गोरखाकाली, प्रभु र सानिमा बैंकको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images