images
images
  • म्यानमारसँग २ गोलले पराजित भयो नेपाल

    जनतासँग माओवादी तराई-मधेश जागरण अभियानका क्रममा विराटनगर पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ पत्रकारहरूले बुधबार साेधे, ‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ देखिनु भएन नि ?’

    पछिल्लो समय नेकपा माओवादी केन्द्रमा सबैभन्दा बढी चर्चामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ अभियानमा देखिएका छैनन् । गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पासाङ उपाध्यक्षको सिटमा बसेका थिए । अभियान घोषणा गर्दा पनि उनी बैठकमै थिए । आन्तरिक बैठकमा सहभागी हुँदै आएका पासाङ अभियानमा नदेखिएपछि उनको सोधीखोजी भएकाे हाे ।

    अध्यक्ष प्रचण्डले पासाङले पार्टीको औपचारिक जिम्मेवारी पाउनै बाँकी रहेकाले अभियानमा सहभागी नगराइएको जवाफ दिएका छन् । पासाङलाई पार्टीमा कुन तहको जिम्मेवारी दिने निर्णय हुन बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘नन्दबहादुर पुनलाई ल्याउने बारेमा कुनै विवाद भएको छैन । तर, प्रदेशका साथीहरूको राय सुझाव पनि बुझेर मात्रै उहाँलाई औपचारिक जिम्मेवारी दिँदा ठीक हुन्छ भन्ने भएकाले औपचारिक जिम्मेवारी उपाध्यक्ष दिने हो या सचिव दिने, या त उपमहासचिव बनाउने हो भन्नेबारेमा निर्णय गरी नसकेको हुनाले अभियानमा नल्याइएको हो ।’

    कहाँ छन् पासाङ ?

    माओवादी केन्द्रले जागरण अभियान चलाइरहँदा पासाङ गुपचुप बसेका भने छैनन् । झापाबाट जागरण अभियान सुरु भएको पहिलो दिन काठमाडाैंमै रहेका उनी दोस्राे दिन १३ फागुनमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका– ८ मा आयोजित वैचारिक–सांस्कृतिक खुल्ला विमर्श कार्यक्रममा प्रमुख अतिथि बनेका थिए । माओवादी नेता लेखनाथ न्यौपानेलाई पनि पासाङले आफूसँगै हिँडाएका छन् ।

    दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका पासाङ पुनः राजनीतिमा सक्रिय भएपछि माओवादीभित्र विवाद छ । एक पक्षले उपराष्ट्रपति भइसकेका व्यक्तिलाई अब राजनीतिमा ल्याउन नहुने बताइरहेको छ भने अर्को पक्षले पार्टी बलियो बनाउन पासाङलाई जिम्मेवारी दिनुपर्ने भनिरहेको छ ।

    गत २२ माघमा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पासाङलाई पार्टी केन्द्रीय उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । तर, उनलाई अहिलेसम्म माओवादीले पदीय हिसाबले कुनै जिम्मेवारी दिएको छैन । तर, उत्पादनको जिम्मेवारी दिएको छ ।

    गत २६ कात्तिकमा पासाङ औपचारिक रूपमा माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी भएका थिए । अध्यक्ष प्रचण्डकै चाहनामा पासाङ माओवादीमा सक्रिय भएको माओवादी नेताहरू बताउँछन् । तर, यसअघि गत २१ देखि २३ पुससम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा भने पासाङ उपाध्यक्षको लहरमा बसेपछि उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको चर्चा चलेको थियो । तर अहिले पार्टीले देशव्यापी जागरण अभियान चलाइरहँदा पासाङलाई सहभागी नगराइनुले पार्टीभित्र उनको विषयलाई लिएर खटपट बढेको हो कि भन्ने अनुमान गरिन थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images