काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तराष्ट्रिय आप्रवासी संगठन (आइओएम) बीच आपसी सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएकोे छ । पछिल्लो समय अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) संगको सहकार्यले एनआरएनएमा चर्को विवाद भई एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला र उपाध्यक्ष पासाङ्ग शेर्पालाई कारबाहीसमेत गरिएको र उपाध्यक्ष बद्री केसीलाई कारबाहीको मागका लागि केहि पदाधिकारीले माग गरिरहेका बेला फेरी एनआरएनएले आइओएासँग आपसी सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका छन । एनआरएनए आफै गैरनाफामुखी संस्था भएको र उक्त सँस्थाले अन्य संस्थासँग आर्थिक सहयोग लिनु गलत भएको एनआरएनएकै संस्थापक, अभियन्ता र बर्तमान कार्यसमितिका पदाधिकारीहरु नै बताउछन । हाल आईओएमसँग भएको समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुको स्वेच्छिक फिर्ति, आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने उल्लेख गरिएको छ ।
यस्तै द्विपक्षीय हित तथा आपसी सरोकारका विषयमा खोज तथा अनुसन्धानमा सहकार्य गर्ने, कोभिड–१९ का कारण प्रभावित विभिन्न गन्तव्य मुलुकहरुबाट स्वदेश फर्कनु परेका नेपाली श्रमिकहरुका लागि स्वरोजगारीका अवसर, क्षमता अभिवृद्धि, आर्थिक साक्षरता, उद्दमशीलता लगायतका क्षेत्रमा सहकार्य गर्ने, आप्रवासन सम्बन्धि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तिमा नेपाल सरकारसँग सहकार्य गर्ने लगायतका विषयमा सहमति भएको एनआरएनएले जनाएको छ ।
समझदारी पछि साझा उद्देश्य प्राप्तिका विभिन्न क्षेत्रमा दुवै संस्थाले कार्यगत सम्बन्ध विस्तार गर्ने जनाईएको छ । यस्तै डायस्पोराको समग्र विकासमा सहकार्य तथा सहजीकरण गर्नुका साथै सरकारका विभिन्न निकाय र तहमा सुरक्षित आप्रवासन तथा आर्थिक विकासका लागि समन्वय तथा सहकार्य गरि अघि बढ्ने संघले जनाएको छ ।
संघले आईएलओको रकम आएदेखि नै आईओएमसँग सहकार्यका लागि पहल गरिरहेको थियो । संघका अध्यक्ष पन्तले आईओएमका नेपाल प्रतिनिधिसँग सहकार्य र आपसी समन्वयका लागि पटक–पटक छलफल गरेपछी सहमति भएको एनआरएनएले जनाएको छ । एनआरएनएको उक्त सहमतीपछी सँस्थाले नेपालीहरुको अति गोप्य डकुमेन्ट बेचेर आर्थिक चलखेल गरेकोमा तिब्र बिरोधका आवाजहरु उठेका छन् ।
प्रतिक्रिया दिनुहोस्