
काठमाडौं–तीन महिनाअघि काठमाडौंको लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहका प्रायः सबै जनालाई पक्राउ गर्ने कार्यमा प्रहरीलाई सफलता मिलेको छ ।
पछिल्लोपटक अजय लामा र दीपक बरामू भारतको हरियाणाबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले दुवैलाई पक्राउ गरी शुक्रबार बिहान काठमाडौं ल्याई काठमाडौं प्रहरी परिसरलाई बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी काजीकुमार आचार्यले घटनामा संलग्न अजय र दीपकलाई लामो समयको अनुसन्धानपछि नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको बताए ।
गत ११ कात्तिक बिहान ११ बजेर ५० मिनेट जाँदा घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भएको थियो । लाजिम्पाट पानीपोखरीस्थित इनोभा अस्पतालको पार्किङमा कार रोकेर निस्किएलगत्तै व्यवसायी विक्रममाथि अन्धाधुन्ध रड प्रहार भएको थियो । उनको मृत्यु हुन्छ भन्ने यकिन भएपछि मात्रै आक्रमणकारीहरू त्यहाँबाट भागेका थिए । यद्यपि, समयमै उपचार हुँदा विक्रम भने बाँच्न सफल भएका छन् ।
घटनाको अनुसन्धान गर्दैजाँदा घटनामा नुवाकोटका अजय लामा मुख्य व्यक्ति रहेको पत्ता लागेको थियो । यस्तै, घटनामा नुवाकोटकै मार्सल भन्ने शैलेन्द्र तामाङ, गोरखाका दीपक बरामू र गोरखाकै निश्चल सुनारको प्रत्यक्ष संलग्नता रहेको खुलेको थियो । घटनामा प्रयोग भएको मोटरसाइकल गोरखाकै सिजन अधिकारीको भएको र उनको समेत संलग्नता खुलेको थियो । त्यसलगत्तै परिचालित प्रहरीले सुरुमा मार्सल भन्ने शैलेन्द्रलाई पक्राउ गरेको थियो । शैलेन्द्रकै बयानअनुसार घटनामा प्रत्यक्ष संलग्न रहेका अजय, दीपक र निश्चलको खोजी भएको थियो ।
घटनालगत्तै काठमाडौंबाट भागेर झापा पुगेका अजय, दीपक र निश्चलमध्ये निश्चललाई झापाबाट प्रहरीले पक्राउ गरेको थियो । सँगै रहेका उनी पक्राउ परे पनि अजय र दीपक भने त्यहाँबाट पनि भाग्न सफल भएका थिए । त्यसपछि प्राप्त जाहेरी, घटनाको अनुसन्धान तथा शैलेन्द्र र निश्चलको बयानका आधारमा संगठित अपराधमा अनुसन्धान गर्दैजाँदा घटनामा घाइते विक्रमकी पूर्वभाउजू लक्ष्मी राई, लक्ष्मीका हालका पति रमेश सिलवाल, गण्डकी प्रदेशका निलम्बित प्रदेशसभा सदस्य दीपक मनाङेका स्वकीय सचिव रहेका टीकाराम भण्डारी, सिजल अधिकारी र पदम राईको पनि संलग्नता रहेको खुलेको थियो ।
सुरुवाती चरणमा पक्राउ परेकाहरूले अजयसँगको व्यक्तिगत रिसिइबीका कारण आक्रमण गरेको बताए पनि यसका पछाडि पूर्वभाउजू लक्ष्मीसँगको रिसिइबीका कारण उनले नै ‘खेताला’ लगाएर हत्या गर्ने उद्देश्यबाट आक्रमण गर्न लगाइएको आरोप छ ।
प्रहरीले गरेको अनुसन्धानमा पनि घटनामा प्रत्यक्ष संलग्न मुख्य अभियुक्त अजयसँग लक्ष्मी, रमेश र टीकारामको बारम्बार कुरा भएको पाइएको थियो । यिनीहरूको मोबाइल कल डिटेल र लोकेसन हेर्दा उनीहरूबीच घटनाको आसपास पटकपटक कुराकानी र भेटघाट भएको पाइएको थियो । तर, जतिबेला घटना भयो, त्यसको तीन दिनअघि नै लक्ष्मी र रमेश भने नेपाल छाडेर भागिसकेका थिए ।
यता, प्रहरीले घटनामा संलग्न भन्दै मनाङेका स्वकीय सचिवसमेत रहिसकेका एमालेनिकट युवा संगठनका नेता टीकारामलाई १२ पुसमा पक्राउ अनुमति लिई पक्राउ गरी संगठित अपराधको कसुरमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा टीकारामले घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै बयान दिएका थिए । लक्ष्मी आफ्नो व्यावसायिक साझेदार रहेको तथा रमेशसँग लक्ष्मीमार्फत चिनजान भएको तर अजयलगायतका व्यक्तिसँग चिनजान नभएको भनी बयान दिएका थिए ।
भारतको पञ्चकुलाबाट पक्राउ परेका अजयले प्रहरीसमक्षको बयानमा आफूले २० लाख रुपैयाँ पाउने आशमा विक्रममाथि आक्रमण गरेको प्रारम्भिक बयान दिएका छन् । सुरुमा आफूलाई १५ लाख रुपैयाँको अफर आएको र १५ लाखमा नमानेपछि ५ लाख थप गरिदिने सर्तमा २० लाख रुपैयाँ पाउने भएपछि विक्रममाथि आक्रमण गरेको बयान दिएका छन् ।
घरजग्गा व्यवसायी विक्रममाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्न लगाउने व्यक्ति धादिङको ज्वालामुखी–४ दोभानटारका रमेश सिलवाल हुन् । रमेशले नै गोरखाका सिजनमार्फत २० लाख रुपैयाँ दिने सर्तमा विक्रममाथि आक्रमण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रमेशले विक्रममाथि आक्रमण गराउनुको कारण भने रमेश आफैं नभएर उनकी लिभिङ टुगेदर पार्टनर लक्ष्मी हुन् । अनि लक्ष्मी पीडित विक्रमकी पूर्वभाउजू हुन् । विक्रमका दाइ र लक्ष्मीको सम्बन्धविच्छेद हुनुमा विक्रम नै कारक रहेको भन्दै लक्ष्मीले विक्रममाथि आक्रमण गरी हत्यासमेत गर्न चाहन्थिन् ।
बेलायतमा बसोबास गर्ने लक्ष्मी नेपाल आएको समयमा रमेशसँग अवैध सम्बन्धमा रहेको थाहा पाएपछि विक्रमले सो कुरा आफ्ना दाइलाई बताएका थिए । त्यसपछि विक्रमका दाइले यही विषयमा विवाद भएपछि लक्ष्मीसँग सम्बन्धविच्छेद गरेका थिए । विक्रमकै कारण आफ्नो सम्बन्धविच्छेद भएको भन्दै लक्ष्मीले पटकपटक विक्रमलाई सबक सिकाउने बताउँदै आएकी थिइन् । यही मेसोमा लक्ष्मीले आफ्ना लिभिङ टुगेदर पार्टनर रमेशमार्फत विक्रममाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्न लगाएकी थिइन् ।
हाल भारतबाट पक्राउ परेका अजयले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार सुरुमा विक्रममाथिको आक्रमणको सुपारी सिजनले ल्याएका थिए । विक्रममाथि आक्रमण गरी कम्तीमा आठ महिना अस्पतालको बास वा बेड रेस्टमा राख्न सकिएमा १५ लाख रुपैयाँ आउने भनेर सिजनले सुरुमा अजयलाई सुपारी दिन खोजेका थिए । तर, अजयले १५ लाखमा नमानेपछि ५ लाख रुपैयाँ थप गरिदिने भनी कुल २० लाख रुपैयाँ दिने भएपछि अजय विक्रमलाई आक्रमण गर्न तयार भएका थिए ।
नुवाकोटका अजय र गोरखाका सिजनको भेट सुन्धारास्थित भद्र गृहमा भएको थियो । त्यतिबेला अजय लिखत किर्तेको कसुरमा ३ वर्षको कैद सजाय तोकिई जेल पुगेका थिए भने सिजन डाँका चोरीको कसुरमा ६ वर्ष कैद सजाय तोकिएर कैदमा बसेका थिए ।
सिजनले नक्कली सुन देखाएर ठगी र डाँका चोरी गरेको अभियोग पुष्टि भई ६ वर्ष कैदमा पठाइएका थिए भने अजयले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरेको कसुरमा ३ वर्षको कैद सजाय पाएका थिए । त्यहीँ उनीहरूबीच २०७७ सालमा भेट भई दोस्ती भएको थियो ।
खासमा अजयले आफ्नै जेठी सासू सृष्टि लिम्बुलाई जग्गा बिक्री गर्ने भन्दै बैना गरेका थिए । तर, जुन जग्गा बिक्री गर्ने भनिएको थियो, सो जग्गाको लालपुर्जा नै नक्कली बनाइएको थियो । सो लालपुर्जा नक्कली बनाउनमा अजयकै संलग्नता थियो । बैना गरेको जग्गा नै नक्कली रहेको थाहा पाएपछि सृष्टिले प्रहरीमा उजुरी गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्