
जिल्ला समन्वय समिति (जिसस )का प्रमुखहरूले आफूहरूले गर्ने काम नभएको गुनासो गरेका छन् । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनीहरूले बजेट, योजना र कार्यादेशअनुसार काम भए/नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भए पनि निर्वाह गर्न समस्या भएको जिकिर गरे ।
‘जिल्ला समन्वय समितिका प्रमुखलाई संविधान प्रदत्त काम गर्न पनि समस्या भइरहेको छ । यसका तीनै तहका सरकारहरूले विशषे ध्यान दिनुपर्यो,’ उनीहरूले भनेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष खड्काले समन्वय समितिका प्रमुखहरूले अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन सहयोगीको भूमिका निर्वाह गर्न चाहिरहेको बताए । उनले भने, ‘हामी काम गर्न चाहन्छौँ तर काम नै छैन । संविधान प्रदत्त काम गर्न अप्ठ्यारो परिरहेको छ ।’
जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख शान्ति पाण्डेले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्नेगरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिए पनि यसको व्यवहारिक कार्यान्वयन नभएको गुनासो गरिन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न आफूहरू तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्