images
images
  • विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ ।क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो ।

    ‘उनले त्यो के हो भनेका छैनन्, तर लागूऔषध भएको शंका लगेर केरकार गरेका थियौं’, विमानस्थल सुरक्षमा खटिएका एक अधिकृतले भने ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पनि लागूऔषध जस्तो देखिने वस्तु बरामद भएपछि लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई बुझाइएको पुष्टि गरेका छन् ।

    उनले भने, ‘नियमित जाँचका क्रममा भेटिएपछि थप अनुसन्धानका लागि पठाएका छौं ।’

    लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । ‘नतिजा आएपछि सार्वजनिक गर्छौं’, ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले भने ।

    स्रोतका अनुसार, पक्राउ परेका चिनियाँ नागरिकले आफूलाई एक जना व्यक्तिले निश्चित रकम दिने गरी लगिदिन भनेको बताएका छन् ।

    ‘मलाई उनले विद्युतीय सामान छ भनेका थिए, मलाई यस्तो सामान छ भन्ने थाहा थिएन’, उनले दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images