images
images
  • रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहित चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

    काठमाडौं – प्रहरीले साहारा चितवन सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ ।

    पुरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गौतम मिश्रले बताए ।

    उनका अनुसार, अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    विभिन्न कम्पनीमा गएको सहकारीको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।

    पोखराको सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेला प्रहरीले लामिछानेलाई १८ मंसिरमा चितवन लगेर बयान लिएको थियो । बयान सकेर राति कास्की फिर्ता लगिएको विषयमा विवाद समेत भएको थियो ।

    साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा गत ५ मंसिरमा रविसहितका व्यक्तिहरुविरुद्ध पुरक जाहेरी दर्ता भएको थियो ।साहारा सहकारी ठगी प्रकरणको मुद्दा ८ भदौमा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।

    यो प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाल समेत प्रतिवादी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images