images
images
  • सामाजिक अभियन्ता आशिका तामाङ अभद्र मुद्दामा पक्राउ

    काठमाडौं-आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो काठमाडौंको गौशालाबाट तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए ।

    एसपी अधिकारीका अनुसार सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले थप विवरण सार्वजनिक नगरे पनि पछिल्लो समय उनले अभियन्ताका रूपमा प्रहरीलाई समेत अभद्र शैलीमा प्रश्नउत्तर गरेका भिडियोहरू सार्वजनिक भएका थिए ।

    उनले सरसफाइ, उपभोक्तालाई पानीको मूल्य, पार्किङ शुल्क लगायतका विषयमा सामाजिक संजालमा भिडियो पाेस्ट गर्दै आएकी थिइन् । तामाङले सामाजिक अभियन्ता र सक्रिय कार्यकर्ताका रूपमा आफ्नो परिचय दिंदै आएकी छन् ।

    आशिका विरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दिएको थियो। कोषको उजुरीका आधारमा प्रहरी वृत्त गौशालाले अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति लिएर पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

    कोष परिसरमा गएर कर्मचारीलाई गालीगलौज गरेको भन्दै तामाङ विरुद्ध उजुरी परेको छ। साथै, गौशालामै तामाङले प्रहरीलाई पनि गालीगलौज गर्दै धकेलाधकेल गरेको आरोपमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको थियो। परिसरले थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको एसपी अधिकारीले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images