इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ। अन्तिम १० मिनेटमा दुई गोल गर्दै ब्रेन्टफोर्डले महत्त्वपूर्ण अङ्क हासिल गर्न सफल भयो।
खेलमा सिटीका लागि दुवै गोल फिल फोडेनले गरेका थिए। उनले ६६ र ७८ मिनेटमा गोल गर्दा ब्रेन्टफोर्डले पहिलो गोल ८२ औं मिनेटमा विसाको गोलमार्फत खेलमा फर्किएको थियो।
उसका लागि नोर्गार्डले इन्जुरी समयमा बराबरी गोल गर्दै सिटीको संभावित जितमा ब्रेक लगाए। इन्जुरी समयको अन्तिम मिनेटमा ब्रेन्टफोर्ड जित नजिक पुगेको थियो। तर गोललाइनबाट सिटी जोगिन पुग्दा संभावित हार टरेको थियो।
त्यस्तै, अर्को खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल नटिङ्घम फरेस्टसँग १-१ गोलको बराबरीमा रोकियो। ८ औं मिनेटमै नटिङघमले क्रिस उडको गोलमा अग्रता लिएको थियो। तर लिभरपुलले ६६ औं मिनेटमा डियोगो जोताको गोलमा बराबरी गरेको थियो।
प्रमियर लिगकै अन्य खेलमा चेल्सीले पनि बोर्नेमाउथसँग २-२ गोलको बराबरी खेल्दा वेस्टह्यामले फुलह्यामलाई ३-२ ले हरायो।
खेलपछि लिभरपुल २० खेलबाट ४७ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।
नोटिङ्घम फरेस्ट ४१ अङ्कका साथ दोस्रो स्थानमा रहँदा आर्सनल ४० अङ्कका साथ तेस्रो र चेल्सी ३७ अङ्कका साथ चौंथो र न्युक्यासल युनाइटेड र सिटीको समान ३५ अङ्क भएपनि सिटी छैटौं स्थानमा रहेको छ।


विश्व खबर 


















