
एजेन्सी । फ्रान्स युरोकप फुटबलमा हारबाट जोगिएको छ । हंगेरीको बुडापेस्टमा भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो ।
एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगियो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले लियो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरे ।
तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा फर्काए । उनले खेलको ६६ औँ मिनेटमा गोल गरे ।
त्यसबाहेक खेल अवधि भर विश्व विजेता फ्रान्सले एकतर्फी पकड जमाएको थियो । तर, गोल गर्न असफल भयो । पहिलो हाफमा फ्रान्सका करिम बेन्जिमा र केलियन एमबाप्पेले पाएको मौकामा गोल गर्न सकेनन् ।
दोस्रो हाफमा ओसुमाने डेम्बेलेको प्रहार पोस्टमा लागेर फर्कियो । यो बराबरीसँगै समूह ‘एफ’को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ ।
साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो।
हंगेरीले भने पहिलो एक अंक जोडेको छ । हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३–० ले हारेको थियो ।
प्रतिक्रिया दिनुहोस्