images
images
  • दुर्गममा हिँड्नै मुस्किल

    काठमाडौँ । उत्तरी गोरखामा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल सेराङ जाने बाटो जोखिम भएपछि कादुरी नामक संस्थाले झोलुङ्गे पुल निर्माण गर्न सुरु गरेको छ । झोलुङ्गे पुल नबनुञ्जेल सो बाटोसम्म जोड्नेगरी स्थानीयबासीले अस्थायी रुपमा काठको भ-याङ बनाएर आवतजावत गरिरहेका छन् ।

    जिल्लाको चुमनुब्री गाउँपालिका ५ स्थित प्रसिद्ध धार्मिक स्थल सेराङ गुम्बामा अहिले १२५ जनाभन्दा धेरै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी छन् । ५० जनाभन्दा धेरै गुम्बा विद्यालय पढ्ने भिक्षुहरु छन् । गुम्बा पूजा गर्ने, ध्यान गर्ने लामा गुरुहरु गरी तीनसय भन्दा धेरै जना सेराङमा बस्ने वडाअध्यक्ष काल्देन छेवाङ लामा बताउँछन् ।

    चुमनुब्री ५ को क्य्राकबाट चारघण्टाको उकालो बाटो हिँडेपछि सेराङ पुगिन्छ । निर्जन जंगलको बाटो धेरै जोखिम रहेकाले कादुरीसंग अनुरोध गरी पुल निर्माण गर्न लागिएको वडाअध्यक्ष लामाको भनाइ छ । ‘सेराङ गुम्बामा बस्नेहरु पनि त्यो बाटो हिँड्छन् । उनीहरुलाई रासनपानी पु-याउन जाने आउनेहरु पनि त्यो बाटो हिड्नुपर्छ । गुम्बामा पूजा गर्न जानेहरु, पर्यटकहरु पनि त्यो बाटो हिँड्नुपर्छ’, लामा भन्छन्, ‘बाटो धेरै नै गाह्रो भएकाले कादुरीसंग अनुरोध गरी तीन ठाउँमा पुल बनाउन लागेका छौँ । पोहोरसाल एउटा बनाइसक्यो । एउटा अहिले बनाउन लागेको छ । अर्को एउटाचाहिँ आउनेसाल बनाउने भनेको छ ।’

    तीन ठाउँमा पुल बनेपछि बाटो कम जोखिम पनि हुने, दुरी पनि केही घट्ने उनले बताए । पुललाई जोड्न गाउँपालिकाले १० लाख खर्चेर पदमार्ग पनि बनाउन लागेको उनले बताए । ‘पुलसम्म पुग्न गाउँपालिकाले १० लाख रुपैयाँ खर्च गरेर सुरक्षित बाटो बनाउँदैछ’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images