images
images
  • त्रिचन्द्रमा आंशिक शिक्षकले लगाए ताला, १८ महिनादेखि तलब नदिएकाे आराेप

    काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसमा ७ पुसयता तालाबन्दी छ । क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, लेखा र प्रशासनको कोठा ठप्प पारिएको छ । पठनपाठनका गतिविधि सुस्ताएका छन् ।

    त्यसको कारण भने त्रिचन्द्रका शिक्षकहरूको आन्दोलन हो । शिक्षकहरूको आन्दोलन किन त ? १८ महिनादेखि तलब नपाएको गुनासो आन्दोलनरत आंशिक शिक्षकको छ । तलबको समस्याबारे २४ मंसिरमा एउटा अल्टिमेटम पत्र क्याम्पस प्रशासनलाई दिएको त्रिवि आंशिक प्राध्यापक संघ, त्रिचन्द्र क्याम्पस इकाइका अध्यक्ष सतीशचन्द्र झाको भनाइ छ । तर, त्यसमा कुनै सुनवाइ भएन । त्यसपछि १ पुसदेखि आंशिक शिक्षकले ‘पेन डाउन’ नै गरे । तैपनि प्रशासन मौन बस्यो । र, ७ पुस तालाबन्दी गर्न बाध्य बनेको झाले दाबी गरे ।

    ‘हामीले जति भन्दा पनि तलब नपाएपछि बाध्य भएर पेन डाउन गर्नुपर्ने अवस्था आयो,’ झाले भने, ‘एक/दुई महिना पो सहिन्छ । १८ महिनासम्म तलब नपाउँदा हामीले कसरी धान्ने ? त्रिवि र क्याम्पस प्रशासन दुवैले सोच्नुपर्ने हैन ?’

    झा’काअनुसार गत भदौमा २०८० सम्मको सबै तलब दसैँअगाडि र २०८१ वैशाखदेखिको तलब मंसिरसम्म भुक्तानी गर्ने सम्झौता भएको थियो । तर, दसैँअगाडि केही विभागको भुक्तानी भए पनि बाँकीको अहिलेसम्म भुक्तानी भएको छैन ।

    यसबीचमा आन्दोलनरत पक्ष र क्याम्पस प्रशासनबीच छलफल नभएका हैनन्, पटक-पटकका छलफल निस्कर्षमा पुगेनन् । ‘त्यो बेला क्याम्पस चिफले पैसा दिन्छौँ भनेर आश्वासन दिनुभयो, तर हामीले ‘दिन्छौँ हैन, दिनुस् न’ भन्यौँ,’ झाले बताए ।

    क्याम्पससँगको छलफल निचोडमा नपुगेपछि त्रिविका रजिष्ट्रार प्रा.डा. केदार रिजालले आन्दोलनरत शिक्षक र त्रिचन्द्र क्याम्पस प्रशासनलाई बोलाए । ‘त्यो दिन रजिष्ट्रारले क्याम्पस प्रमुखलाई पैसा दिनुस् न उहाँहरूलाई भन्नुभयो । तर, क्याम्पस प्रमुखले जवाफमा आफूलाई कानुनी अड्चन रहेको बताउनुभयो । यो कस्तो अड्चन हो मैले बुझ्न सकेको छैन,’ झाले भने ।

    सो दिनको छलफल पनि बिनानिष्कर्ष टुंगिने भएपछि १७ पुसभित्र कानुनी अड्चन फुकाइदिने आश्वासन दिएर पाठइयो । तर, १७ पुस झासँग कुरा गर्दा यसबारे कुनै खबर नआएको बताए ।

    रजिष्ट्रार केदार रिजालले भने आफूले तालाबन्दी गरेर मात्र समाधान नहुने भएकोले प्रक्रियालाई मान्न अनुरोध गरेको बताउँछन् । ‘आन्दोलनरत शिक्षकहरूको ईस्यू एकदमै उचित छ । म संवेदनशील छु । समाधान गर्ने प्रक्रिया पनि हामीले उठाइसकेका छौँ । तर, उहाँहरू पनि अलि धैर्य भइदिनुपर्‍यो । यसको समाधान हुन्छ,’ उनले भने, ‘पछिल्लो मिटिङमा पनि मैले यसो नगर्नुस् । समाधानको लागि कमिटीहरू गठन भइसकेको छ । दुई/तीन लेयरमा गएर समस्या समाधान गर्नुपर्छ । दिगो समाधानको लागि हामी काम गर्छौं । तालाबन्दी नलगाउनुस् भनेको हुँ ।’

    त्रिविअन्तर्गतको त्रिचन्द्र क्याम्पसका आंशिक शिक्षकले तलब नपाएको आन्दोलन जति संवेदनशील छ, त्रिविमा त्योभन्दा बढी समस्या चाहिँ त्यही आंशिक शिक्षकहरूको मुद्दाबाट बनिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images