images
images
  • चरासँग ठोक्किएर भएको थियो दक्षिण कोरियामा विमान दुर्घटना, १७९जनाले अकालमै गुमाए ज्यान

    दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरणका क्रममा जेजु एयरको बोइङ ७३७–८०० विमान दुर्घटनामा पर्‍यो । विमानमा १ सय ८१ जना सवार थिए । तीमध्ये १ सय ७५ यात्री थिए भने ६ जना चालक दलका सदस्य थिए ।

    दुर्घटनामा २ जनाबाहेक सबैको मृत्यु भएको छ । दुई जनालाई दुर्घटनास्थलबाट जीवित उद्धार गरिएको थियो । उनीहरूको उपचार भइरहेको छ । दुवै जना चालक दलका सदस्य हुन् ।

    जेजु एयरको उक्त विमान थाइल्याण्डको बैंककबाट दक्षिण कोरिया फर्किरहेको थियो । अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको बताइएको छ ।

    मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयाअनुसार करिब ९ बजे विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको विमान बोइङ ७३७–८०० को सञ्चालन कोरियाली बजेट एयरलाइन्स जेजु एयरले गरिरहेको थियो ।

    जेजु एयरको व्यवस्थापन टिमले विमानमा कुनै पनि प्राविधिक समस्या नरहेको दाबी गरेको छ । दुर्घटनाको वास्तविक कारण जान्न जाँच हुने टिमको भनाइ छ ।

    ब्ल्याक बक्स भेटियो

    विमानको भग्नावशेषबाट ब्ल्याक बक्स–फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर भेटिएको छ । योनहेप एजेन्सीका अनुसार, यीमध्ये फ्लाइट डेटा रेकर्डरमा सामान्य क्षति भए पनि भोइस रेकर्डर ठीकठाक छ ।

    उता, अमेरिकाले दुर्घटनाको कारणबारे अनुसन्धानमा दक्षिण कोरियालाई मद्दत गर्ने बताएको छ । अमेरिकाको नेसनल ट्रान्सपोर्ट सेफ्टी बोर्ड (एनटीएसबी) का अनुसार, टिममा एनटीएसबीका सदस्य, बोइङ तथा संघीय विमान प्रशासनका अनुसन्धानकर्ता संलग्न हुनेछन् ।

    विमानस्थलमा पीडितका परिवारजन भेला भइरहेका छन् । छेउमै एक अस्थायी मर्चरी बनाइएको छ ।

    दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले दुर्घटनाको खबर पाएलगत्तै देशका कार्यवाहक राष्ट्रपति चोई साङ्ग–मोक दुर्घटनास्थलमा पुगेको उल्लेख गरेको छ ।

    राष्ट्रपतिले उद्धार कार्यमा सहयोगका लागि आवश्यक आपतकालीन जनशक्ति र उपकरण उपलब्ध गराउन तथा घाइतेको उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् । सरकारले पीडित परिवारको सहायताका लागि हरसम्भव प्रयास गर्ने आश्वासन पनि उनले दिएका छन् ।

    यो दुर्घटनापछि सरकारले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

    यस क्रममा सरकारी कार्यालयमा झण्डा आधा झुकाइने छ भने सबै सरकारी अधिकारीले कालो रिबन बाँध्नेछन् । मुआन विमानस्थलको रनवेलाई स्थानीय समयाअनुसार बुधबार बिहान ५ बजेसम्म बन्द राखिने छ ।

    समाचार एजेन्सी योनहेपका अनुसार, विमानमा सवारी यात्रीमध्ये १ सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका हुन् । उनीहरू तीन वर्षदेखि लिएर ७८ वर्षसम्मका थिए । तर, धेरैजसो ४०, ५० र ६० वर्षका थिए ।

    थाइल्याण्डकी प्रधानमन्त्री पाएटोङ्गटार्न चिनावाटले विमान दुर्घटनाप्रति शोक व्यक्त गर्दै लेखेकी छन्, ‘दुर्घटनामा मारिएका र घाइतेको परिवारप्रति म समवेदना व्यक्त गर्छु ।’

    दक्षिण कोरियाको अग्निनियन्त्रण विभागका अनुसार, दमकलको ३२ गाडी र १५ सय आपतकालीन जनशक्तिलाई घटनास्थलमा खटाइएको छ ।

    मुआन दक्षिण कोरियाको राजधानी सिओलबाट २ सय ८८ किलोमिटरको दूरीमा छ । दक्षिण कोरियाको विमान उद्योगलाई सुरक्षाको मामिलामा उत्कृष्ट मानिन्छ ।

    कसरी भयो विमान दुर्घटना ?

    दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन । यद्यपि, अग्निनियन्त्रण विभागको भनाइमा, चरासँग ठोक्किनु र खराब मौसम दुर्घटनाको कारण हुन सक्छ ।

    दक्षिण कोरियाको एक ट्रान्सपोर्ट अधिकारीका अनुसार, विमानस्थलमा अवतरण गर्ने कोसिस गरिरहेका बेला विमानलाई एयर ट्राफिक कन्ट्रोलले अवतरण गर्ने क्षेत्रनजिकै चरा रहेका चेतावनी दिँदै आकाशमै रहन सचेत गराएको थियो ।

    यसको दुई मिनेटपछि पाइलटले ‘मे डे’ (इमर्जेन्सी) को चेतावनी दिए । यसपछि एयर ट्राफिक कन्ट्रोलले विमानलाई अर्कोतिरबाट अवतरण गर्ने अनुमति दियो ।

    समाचार एजेन्सी योनहेपका अनुसार, चरासँग ठोक्किएकै कारण विमान दुर्घटनामा परेको हुन सक्छ । यसपछि विमानको एक भागमा आगो लागेको देखियो । अर्को भागबाट कालो धुवाँको मुस्लो निस्कियो ।

    ट्रान्सपोर्ट विभागका अनुसार, विमानको मुख्य पाइलट सन् २०१९ देखि यस भूमिकामा कार्यरत थिए । उनीसँग ९ हजार ८ सय घण्टा विमान उडाएको अनुभव थियो ।

    प्रत्यक्षीदर्शी के भन्छन् ?

    दक्षिण कोरियाको योनहेप न्युज एजेसीसँग कुरा गर्दै ४१ वर्षे यू जी–योङ्गले दुर्घटना हुँदा उनी विमानस्थलकै नजिक रहेको बताएका छन् । उनका अनुसार, दुर्घटनाभन्दा ठीक पहिले उनले विमानको दाहिने इन्जिनमा आगो देखे ।

    उनले भने, ‘विमान भुईंतिर खसिरहेको मैले देखेँ । मलाई लाग्यो, विमान ल्याण्ड गर्दैछ । त्यही बेला मैले आगो देखेँ ।’

    अर्का एक प्रत्यक्षदशीले भने, ‘अचानक विस्फोटको आवाज सुनियो । त्यही बेला हावामा कालो धुवाँको मुस्लो उठ्यो । यसपछि अरु विस्फोटको आवाज पनि सुनियो ।’

    एयरपोर्टनजिकैको रेस्टुरेन्ट मालिक इम योङ–हाकले भने, ‘सुरुमा त मलाई कुनै तेलको ट्याङ्कर पड्किएको जस्तो लाग्यो । किनकि, यहाँ धेरै ट्याङ्कर आउने गरेका छन् । यसपछि मलाई अरु नै केही भएको जस्तो लाग्यो । बाहिर निस्केर हेर्दा आकासमा कालो धुवाँको मुस्लो उडिरहेको थियो । यसपछि मैले ठूलो र तीव्र विस्फोटको आवाज सुनेँ । यसपछि मैले अरु विस्फोट सुनेँ ।’

    यो विमान दुर्घटनालाई इतिहासमा जेजु एयरको पहिलो घातक दुर्घटना मानिएको छ । जेजु एयर दक्षिण कोरियाको सबौभन्दा कम लागत भएको एयरलाइन्समध्ये एक हो । यसको स्थापना सन् २००५ मा भएको थियो ।

    जेजु एयरले एक विज्ञप्तिमा भनेको छ, ‘जेजु एयरको तर्फबाट हामी सिर झुकाएर सबैसँग माफी माग्दछौँ, जसलाई मुआन एयरपोर्टमा भएको दुर्घटनाबाट भारी क्षति पुगेको छ ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो घटनालाई लिएर हामीलाई खेद छ ।’

    उता, विमान बनाउने कम्पनी बोइङले यो दुर्घटनामा शोक व्यक्त गर्दै यसपछि आफू दक्षिण कोरियाको जेजु एयरसँग सम्पर्कमा रहेको बताएको छ ।

    जेजु एयरका अनुसार, यो दुर्घटना बोइङको ७३७–८०० मोडलसँग जोडिएको थियो ।

    पाइलटबाट गल्ती भएको हो ?

    एभिएसन विज्ञ जियोफ्रे थोमसले एक न्युज च्यानलमा बताएअनुसार, दुर्घटनामा धेरै चिज यस्ता हुन्छन्, जुन बुझ्न कठिन हुन्छ ।’

    उनले भने, ‘एक चरा ठोक्किएको थियो भन्ने छ । इन्जिनमध्ये एक, दाहिनेतर्फको इन्जिनमा असर परेको थियो । यसबाट ककपिटमा अत्यधिक दबाब पैदा भयो ।’

    थोमसका अनुसार, तर ल्याण्ड गियर प्रयोग नगरिएको हुन्थ्यो भने ककपिटमा यसको चेतावनी सुनिन्थ्यो । र, अवतरण गर्नमा केही बाधा आइरहेको थियो भने यसलाई म्यानुअली पनि गर्न सकिन्थ्यो ।’

    थोमसले भचने, ‘थाहा छैन, इन्जिनको हालत यस्तो थियो कि, पाइलटसँग यस्तो गर्ने समय नै मिलेन । तर, उनले इमर्जेन्सी घोषित गर्नुपर्थ्यो । यसो गर्दा अग्नि नियन्त्रण युनिट रन वेमा समयमै पुग्थ्यो । र, उनले गियर अप ल्याण्डिङको तयारी गर्नुपर्थ्यो । यस्तो स्थितिमा रनवेमा फोम पनि बिछ्याउन भ्याइन्थ्यो ।’

    दुर्घटनासँग जोडिएका धेरै कुरा कल्पनाभन्दा धेरै टाढा रहेको उनले बताए ।

    अन्तर्राष्ट्रिय नेताले के भने ?

    चीनका राष्ट्रपति शी चिनफिङले पीडित र उनका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । एक टेलिग्राम सन्देशमा सीले दक्षिण कोरियाका कार्यकारी राष्ट्रपतिलाई सन्देश पठाएका छन्, जसमा लेखिएको छ, ‘चीन सरकार र चिनियाँ नागरिकका तर्फबाट पीडित र उनका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । र, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

    बेलायतका राजा चार्ल्स तृतीय, रानी र विदेशमन्त्री डेभिड ल्यामीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    जर्मन चान्सलर ओलाफ शोल्ज र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पीडितका परिवारजनलाई शोक सन्देश पठाएका छन् ।

    दक्षिण कोरियामा विमान दुर्घटनाको इतिहास

    यो विमान दुर्घटनालाई दक्षिण कोरियाको इतिहासमा सबैभन्दा खराबमध्ये एक मानिएको छ ।

    यसअघि सन् २००२ मा एयर चाइनाको एक बोइङ्ग ७६७–२०० दक्षिण कोरियाको बन्दरगाह शहर बुसानको पहाडमा ठोक्किएको थियो । उक्त दुर्घटनामा १ सय २९ जना मारिएका थिए भने ३७ जना घाइते भएका थिए ।

    सेप्टेम्बर १९८३ मा कोरियन एयरलाइन्सको एक विमानसलाई सोभियत जेटले खसालिदिएको थियो । त्यो विमान सखालिन द्वीपको माथिबाट सोभियत हवाई क्षेत्रमा पुगेको थियो । दुर्घटनामा विमानमा सवार सबै २ सय ६९ जनाको मृत्यु भएको थियो ।

    सन् १९९७ मा प्यासिफिक द्वीप गुआमनजिकै कोरियन एयरको एक जम्बो जेट दुर्घटनाको शिकार भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार २ सय ५४ जनामध्ये २ सय २८ जनाको मृत्यु भएको थियो । (बीबीसी हिन्दीको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस्
    images
    images