images
images
  • देउवाको उत्तराधिकारीमा पूर्णबहादुर कि, सिटौला ?

    काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो १५औं महाधिवेशनका लागि आफ्नो उत्तराधिकारी नतोक्दा संस्थापन समूहका नेताहरू अन्योलमा परेका छन् । नेपाली कांग्रेसको विधानअनुसार पार्टी सभापति दुईपटक मात्रै हुन पाउने व्यवस्था छ । देउवा दुईपटक पार्टी सभापति भइसकेका छन् । देउवाले आफ्नो दोस्रो कार्यकालको ४ वर्षको अवधिको अन्त्यतिर आइपुग्दा पनि उत्तराधिकारी को हो भनेर खुलाएका छैनन् ।

    विराटनगरमा केही समयअघि सञ्चारकर्मीले सोधेको अबको उत्तराधिकारी को हो भन्ने प्रश्नमा देउवाले ‘मैले घोषणा गर्ने होइन, महाधिवेशनले गर्छ’ भनेर जवाफ दिएका थिए । देउवाले दिएको सो जवाफले उनी अहिले जोडघटाउमा रहेको बुझिन्छ । आफ्नो पक्ष बलियो भएपछि कसलाई सभापति बनाउने भन्नेमा उनले निर्णय लिनेछन् ।

    सभापतिका लागि कांग्रेसमा हाल उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह सभापतिका प्रबल दाबेदार हुन् । तीन जनामध्ये देउवाले एक जनालाई उम्मेदवारका लागि अगाडि सार्न सक्नेछन् । तीनै नेताले आ–आफ्नो दाबी गरिरहेको भए पनि देउवाले सभापतिमा कसलाई अगाडि सार्छन् रु भन्न सक्ने अवस्था छैन । त्यसो त १४औं महाधिवेशनमा देउवाको प्यानलबाट उपसभापति जितेका खड्कामा आफू स्वतः सभापतिको दाबेदार भएको बुझाइ छ ।

    त्यस्तै, १४औं महाधिवेशनमा देउवालाई काउन्टर दिनका लागि सभापतिमा उठेका निधिले अन्तिम समयमा आएर सभापतिमा देउवालाई समर्थन गरेका थिए । १३औं महाधिवेशनमा सभापति देउवाले उनलाई उपसभापतिमा मनोनयन गरेका थिए । यसअघि संस्थापनमै रहेका निधि यसपटक भने देउवाको समर्थनमा पार्टी सभापति उठ्ने तयारीमा छन् । अघिल्लोपटक सभापतिमा देउवालाई समर्थन गरेको गुन देउवाले तिर्छन् भन्ने बुझाइ नेता निधिको छ । राजनीतिक विरासत बोकेको परिवार भएको भन्दै निधिले यसपटक सभापतिमा आफूलाई समर्थन गर्नका लागि दबाब दिनेछन् ।

    त्यस्तै, संस्थापनबाट सभापतिका आकांक्षी हुन् प्रकाशमान सिंह । हाल उपप्रधान तथा सहरी विकासमन्त्री रहेका सिंह यसपटक सभापतिका लागि अरूलाई नछाड्ने पक्षमा छन् । १४औं महाधिवेशनमा दोस्रो चरणको सभापतिमा देउवालाई समर्थन गर्दै उनले मतदान गरेका थिए । सभापतिको दोस्रो चरणको निर्वाचन हुने भएपछि देउवा प्रकाशमान सिंह निवासमै पुगेर समर्थन मागेका थिए । लामो राजनीतिक विरासत बोकेका परिवारका सिंह यसपटक देउवाको समर्थन आफूलाई हुनेमा ढुक्क छन् । त्यसो त देउवाले आफूलाई सभापति बनाउन भूमिका खेलेको भन्दै सिंहलाई उपप्रधान तथा सहरी विकासमन्त्री बनाउन भूमिका खेले । हाल सिंहकै नेतृत्वमा कांग्रेस सरकारमा छ ।

    देउवा भने तत्काल मुख खोल्ने पक्षमा छैनन् । संस्थापनइतर समूहबाट शेखर कोइरालाले १५औं महाधिवेशन केन्द्रित गर्दै विभिन्न ठाउँमा भेला र सम्मेलन गर्दै दबाब बढाइरहेकाले पनि देउवा मौन छन् । देउवा पर्ख र हेरको रणनीतिमा रहेको कांग्रेसका एक नेताले बताए । ‘सभापतिले अहिले नै उत्तराधिकारी तोक्दा संस्थापनइतर समूहलाई आफ्नो रणनीति बनाउन सजिलो हुने भएकाले पनि केही बोल्नुभएको छैन,’ कांग्रेस संस्थापन पक्षका एक नेताले राजधानीसँग भने, ‘महाधिवेशनको समय आएपछि मात्रै सभापति देउवा मुख खोल्ने पक्षमा छन् ।’

    अहिलेको अवस्थामा हेर्दा देउवाको केन्द्र, प्रदेश, जिल्ला सबैतिर बलियो पकड छ । आजको दिनसम्मको अवस्थालाई हेर्दा सभापति देउवाले जसलाई समर्थन गर्छन्, उनै व्यक्ति सभापतिमा चुनिने सम्भावना छ । देउवा अहिले आफ्नो पकड भएकै अवस्थामा बलियो शक्तिमार्फत सदस्यता वितरण, क्षेत्र र जिल्लाको अधिवेशनमा वर्चस्व स्थापित गर्ने दाउमा छन् । बलियो अवस्थामा रहेका बेला महाधिवेशन प्रतिनिधि छान्दा सहज हुने देउवाको बुझाइ छ ।

    शेखर कोइराला समूहले समयमै महाधिवेशन गर्नुपर्छ भनेर दबाब बढाइरहेका बेला देउवा भने प्रधानमन्त्री भएपछि मात्रै १५औं महाधिवेशन गर्ने दाउमा छन् । त्यसैले, अहिले देउवाले महाधिवेशन कहिले हुन्छ भनेर मुख खोलेका छैनन् । आफू प्रधानमन्त्री भएका बेलामा महाधिवेशन गर्दा नेता व्यवस्थापन हुने, समूहलाई एक ठाउँमा राख्न सकिने उनको बुझाइ छ ।

    त्यसो त युवाहरूमाझ लोकप्रिय रहेका महामन्त्री गगनकुमार थापा पनि अबको सभापतिको बलिया दाबेदार हुन् । १४औं महाधिवेशनमा संस्थापनइतर शेखर समूहबाट महामन्त्रीमा विजयी भएका थापाले सभापतिका लागि आफ्नो रणनीति बदलेका छन् । उनले केही समयअघिदेखि कांग्रेसमा अब गुटबन्दी आवश्यक नभएको भन्दै भाषण गर्दै आएका छन् । उनी आगामी महाधिवेशनमा देउवाको पनि समर्थन लिएर सभापति उम्मेदवार बन्ने दाउमा छन् ।

    मिति नतोकिए पनि नेपाली कांग्रेसको १५औँ महाधिवेशन सन्निकट आइसकेको छ । विधानतः अबको १ वर्षभित्र १५औँ महाधिवेशन गरिसक्नुपर्नेछ । तर, १ वर्ष म्याद थप्न सकिने छुट छ । म्याद थपिएछ नै भने पनि अब २ वर्षभन्दा बढी कटाउन संभव छैन । त्यसैले अब नेपाली कांग्रेसको सभापति को बन्ला ? विधान संशोधन गरेरै भए पनि शेरबहादुर देउवा तेस्रो कार्यकालका लागि सभापति बन्लान कि ? अब अवकाश लेलान् ? भन्ने चासो धेरैतिर देखिन्छ । त्यसैगरी देउवाले अब आफ्नो उत्तराधिकारीका रूपमा कसलाई अघि सार्लान् ? भन्ने विषयमा पनि त्यतिकै ठूलो चासो देखिएको छ ।

    नेपाली कांग्रेसका विषयमा यति धेरै चासो देखिनुको पनि खास कारण छ । नेपालमा क्रियाशील राजनीतिक दलमध्ये सबैभन्दा पुरानो हो नेपाली कांग्रेस । करिब ८० वर्षको इतिहास बोकेको नेपाली कांग्रेसले स्थापनाकालदेखि नै राष्ट्रिय राजनीतिमा मियोको भूमिका निर्वाह गर्दै आएको छ । केही अपवादबाहेक नेपाली कांग्रेसले आँफूलाई सधैँ देशकै सबैभन्दा ठूलो पार्टीका रूपमा उभ्याएको छ । आधुनिक नेपालमा अहिलेसम्म जे जति अग्रगामी परिवर्तन भएको छ त्यो सबैमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । त्यति मात्रै होइन वर्तमान सभापति देउवाबाहेक नेपाली कांग्रेसका अहिलेसम्मका सबै सभापतिहरूले देशको इतिहासमा आफूलाई अमर बनाउने गरी कुनै न कुनै भूमिका निर्वाह गरेका छन् । त्यसैले नेपाली कांग्रेसको सभापति अब को बन्ला ? भन्ने प्रश्नले सर्वाधिक चर्चा पाएको हो ।

    पार्टीभित्र शक्तिशाली देउवा

    Sher bahadur Daubaनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय राजनीतिमा जति आलोचित हुँदै छन्, पार्टीको आन्तरिक राजनीतिमा त्यति नै शक्तिशाली बन्दै छन् । १३औँ र १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित भएका देउवा विधानतः अब १५आँै महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्न पाउने छैनन् । तर लगातार १० वर्ष पार्टीको नेतृत्व गर्ने अवसर देउवाले पाएका छन् । त्यसमध्ये ८ वर्ष नेतृत्व गरिसकेका छन् । नेपाली कांग्रेसको करिब ८० वर्षको इतिहासमा ७ जनाले पार्टी सभापतिका रूपमा नेतृत्व दिए । त्यसमध्ये सबैभन्दा लामो अवधिसम्म नेतृत्व गर्ने अवसर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र देउवाले पाएको देखिन्छ । मातृकाप्रसाद कोइरालाले ३ वर्ष र सुवर्णशमशेर राणाले करिब २ वर्ष नेतृत्व गरे भने सुशील कोइरालाले करिब ५ वर्ष नेतृत्व गरे ।

    नेतृत्वको अवधि लामो होस् या छोटो नेपाली कांग्रेसका सबै सभापतिहरूले आफ्नो कार्यकालमा ऐतिहासिक काम गरेको देखिन्छ । तर अहिलेसम्म देउवा अपवाद बने । किनकी देउवाले ८ वर्षको यो अवधिमा इतिहासमा नाम अंकित हुने काम गर्ने मौका पाएका छैनन् । देउवाको कार्यकालमा नेपाली कांग्रेसको साख तथा आकार क्रमशः घटिरहेको छ । तर पार्टी भित्रको शक्ति अभ्यासका क्रममा भने देउवा नेपाली कांग्रेसको इतिहासमै अहिलेसम्मका सबैभन्दा बलिया सभापति हुन् ।

    २०४७ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनीत भएका देउवा २०५२ सालमा प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेको २१ वर्षपछि २०७३ सालमा पहिलोपटक पार्टी सभापति निर्वाचित भए । देउवाले पार्टी सभापति बनेपछि आफ्नो राजनीतिक उचाइ थप्न सकेनन् तर कांग्रेसभित्र उनलाई चुनौती दिने गरी अरू नेताले उचाइ बढाउन नसकेका कारण देउवा पार्टीभित्र निकै शक्तिशाली बने ।

    १३औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्दासम्म नेता रामचन्द्र पौडेल देउवा बराबरका नेता मानिन्थे । तर १४औँ महाधिवेशन सम्मको ५ वर्ष अवधिमा पौडेल आफ्नै समूहमा पनि सर्वसम्मत नेता बन्न सकेनन् । १४औँ महाधिवेशनमा त पौडेललाई उनकै समूहले समेत पत्याएन । चाहँदा चाहँदै पनि सभापतिको उम्मेदवार बन्ने हैसियत पौडेलले राखेनन् । राष्ट्रिय राजनीतिमा पौडेलको भूमिका नराम्रोसँग खुम्चियो । भित्री मनले नमाने पनि देउवाकै वरिपरि घुम्नुबाहेक पौडेलले अर्को विकल्प फेला पार्न सकेनन् । देउवालाई रिझाएर राष्ट्रपति पद प्राप्त गरेका पौडेलको अब सक्रीय राजनीतिमा पुनरागमन संभव छैन । अन्य नेताहरू हरेक मामिलामा देउवाभन्दा धेरै नै जुनियर हुन् ।

    उदाहरणका लागि देउवा प्रधानमन्त्री भइसक्दासम्म गगन थापा भर्खर विद्यार्थी राजनीतिमा प्रवेश गर्दै थिए । डा.शेखर कोइराला स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायमा जागिरका लागि भर्खरै प्रवेश गरेका थिए । तर अहिले देउवाको विकल्पका रूपमा थापा र कोइरालाको नाम सर्वाधिक चर्चामा छ । देउवा र उनका अहिले देखिएका प्रतिस्पर्धीबीच उमेर तथा राजनीतिक निरन्तरताका हिसाबले पनि धेरै ठूलो ‘ग्याप’ छ । पार्टी सभापति र उसको प्रतिस्पर्धीबीच यति ठूलो राजनीतिक ग्याप नेपाली कांग्रेसको इतिहासमा अहिलेसम्म थिएन ।

    पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सकेसम्म शक्तिमा पुग्न रोक्ने भित्री खेल राजनीतिको एउटा अंगभित्रै पर्छ । पार्टीमा शक्ति आर्जन गर्ने यसरी नै हो । सके आफू शक्तिमा पुग्ने नसके आफ्नो प्रतिस्पर्धीलाई रोक्ने नेताहरूको साझा चरित्र हो । यस्तो खेल नेपालका सबै पार्टीहरूमा देखिएको छ । नेपाली कांग्रेसभित्र यस्तो खेलमा देउवा मात्रै सफल भएको देखिन्छ । उनका पूर्ववर्तीहरू यो खेलमा खासै सफल भएको देखिन्न ।

    निधीको असफल विद्रोह

    नेपाली कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न हुनासाथ देउवाको उत्तराधिकारी को होला ? भन्ने प्रश्नको अनुमान धेरैले सजिलैसँग लगाएका थिए । सबै दृष्टिकोणले विमलेन्द्र निधी देउवाको उत्तराधिकारी हुन् भनेर धेरैले नाम लिने गर्थे । पार्टीभित्रको तथा देउवा समूहभित्रको शक्ति मञ्चनले पनि त्यही देखाउँथ्यो । जसरी २०३७ सालको जनमत संग्रहमा बिपी कोइरालाले परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री घोषणा गरेर मुलुकको राजनीति तरंगित बनाएका थिए । त्यसरी नै देउवाले १४औँ महाधिवेशनमा निधीलाई अघि सारेर राजनीतिलाई तरंगित बनाउने अनुमान धेरैको थियो । तर देउवाले त्यो अवसर गुमाए । १४औँ महाधिवेशनमा पनि देउवा आफैँ अघि सरे । निधीले विद्रोह गरे ।

    १४औँ महाधिवेशनमा निधीले विद्रोह नगरेका हुन्थे भने यतिबेला देउवाको उत्तराधिकारी को हो ? भन्ने प्रश्नको उत्तर खोज्न विभिन्न हिसाबकिताब गरिरहनुपर्ने थिएन । उत्तर स्पष्ट थियो । तर विद्रोहपछि निधीसँग देउवाको सम्बन्ध बिग्रनु स्वभाविकै हो । विद्रोह गरेका निधीले उल्लेखनीय मत ल्याउन सकेनन् । त्यतिबेला निधीले विद्रोह गर्दा एउटा पाटोको ख्याल गरेनन् । त्यो पाटो हो, पार्टी सभापतिको कुर्सीमै बसेर प्रधानमन्त्री पद हाँक्ने देउवाको इच्छा । देउवाको त्यो इच्छा अनुचित थिएन । पार्टीको नेतृत्वमा पुग्नु भनेको प्रधानमन्त्री बन्नु भन्ने पनि हो । राजनीतिकर्मीका लागि पार्टीको नेतृत्व साधन हो, प्रधानमन्त्री पद साध्य । केन्द्रीय समितिमा आफूभन्दा वरिष्ठ ११ जनालाई उछिनेर २०५२ सालमा ५३ वर्षको उमेरमा प्रधानमन्त्री बनेका देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि पार्टीको नेतृत्वमा पुगेका थिएनन् ।

    देउवाले कांग्रेसको सभापति बन्न धेरै प्रयास गरे । १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाद्वारा पराजित गरिए । ११औँ महाधिवेशनमा पार्टी विभाजन भएकोले देउवा अलग रहे । १२औँ महाधिवेशनमा सुशील कोइरालाद्वारा पराजित गरिए । १३औँ महाधिवेशनमा पराजित हुने छुट देउवालाई थिएन । सबै सामथ्र्य प्रयोग गरेर सभापति पदमा निर्वाचित भए । ठूलो प्रयासपछि सभापति निर्वाचित भएका देउवा छिटै अवकाश लिन तयार भएनन् । १४औँ महाधिवेशनमा पनि उनी आफँै अघि सरे । निधीको विद्रोहले देउवाको पात हल्लिएन ।

    नेपाली कांग्रेसको विधानमा एउटै व्यक्ति लगातार २ कार्यकालभन्दा बढी सभापति बन्न नमिल्ने व्यवस्था छ । यही व्यवस्थालाई शिरोधार्य गर्दै देउवाले अवकाश लिन्छन् कि, विधान संशोधन गरी तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बनछन् ? भन्ने जिज्ञासा धेरैलाई हुनु स्वभाविकै हो । किनकी गिरिजाप्रसाद कोइराला पनि विधानको यो प्रावधानलाई तोडमोड गरेर लगातार तेस्रो कार्यकाल पार्टी सभापति बनेको उदाहरण छ । नेकपा एमालेमा पनि विधानले तोकेको उमेरहदलाई खारेज गरी केपी शर्मा ओली निरन्तर अध्यक्ष भएको उदाहरण छ । त्यसैले देउवाले पनि यो प्रयास नगर्लान् भन्न सकिने अवस्था छैन । देउवाले विधान तोडमोड गर्ने बाटो रोजेनन् भने मात्रै को बन्ला नेपाली कांग्रेसको सभापति ? को होला देउवाको उत्तराधिकारी ? भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गर्नु सान्दर्भीक हुन्छ ।

    को होला देउवाको उत्तराधिकारी ?

    Deuba Congress leasderगिरिजाप्रसाद कोइराला पनि दोहोर्याई तेहर्याई सभापति बनेका थिए । गिरिजाप्रसाद सकेसम्म छोरी सुजातालाई आफ्नो उत्तराधिकारी बनाउने, नसके कांग्रेसको नेतृत्व आफ्नो परिवारबाट बाहिर जान नदिने रणनीतिमा थिए । देउवाको पनि रणनीति करिव करिव यही हो । निधी यसै घोक्रेठ्याक लगाइएका थिएनन् ।

    आफ्नो पारिवारिक उत्तराधिकारी तयार भइनसकेकोले देउवा १४औँ महाधिवेशनमा पुनः उम्मेदवार बनेका थिए । अब श्रीमती आरजु राणा सबै हिसाबले तयार भइसकेकी छन् । अहिले चर्चाका रहेका गगन थापा र डा.शेखर कोइरालाभन्दा आरजु जुनियर होइनन् । राजनीतिक सक्रियताको इतिहास यी तीनै जनाको हाराहारीमा हो । तर डा.आरजुसँग अर्को शक्ति पनि छ । त्यो शक्ति हो पारिवारिक लिगेसी ।

    आजभन्दा ३० वर्षअघि नेतृ शैलजा आचार्यले भनेकी थिइन्, ‘नेपाली कांग्रेसलाई आफ्नो हातमा लिने लामो डिजाइनअन्तर्गत नै आरजु राणालाई शेरबहादुर देउवाकी पत्नी बनाइएको हो, अब देउवालाई अघि सारेर कांग्रेसका नेताहरू १–१ गर्दै समाप्त पारिनेछन् ।’ हुन पनि आरजु देउवाकी पत्नीका रूपमा कांग्रेसमा सक्रीय भए लगत्तै पार्टीभित्र पुराना नेताहरूलाई विस्थापित गर्ने खेल सुरू भयो । आरजुलाई श्रीमतीका रूपमा भित्र्याएको २ वर्षभित्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधी जस्ता मूर्धन्य नेताहरूलाई पछाडि पारेर देउवा प्रधानमन्त्री बन्न सफल भए ।

    देउवालाई विगतमा कोइरालाबन्धु गिरिजाप्रसाद र सुशीलले चुनौती दिए तर अब देउवा पार्टीभित्र करिब चुनौतीविहीन छन् । डा.शशांक कोइराला, डा.शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंह एक ठाउँमा नउभिँदासम्म देउवाका लागि पार्टीभित्र खासै चुनौती छैन । यी ४ जना एकै ठाउँमा उभिने सम्भावना निकै कम छ । उनीहरूलाई रोक्न देउवाको किचेन क्याबिनेट सक्षम छ । यसका लागि गगन थापा शिखण्डी बन्न तयार भएर बसेका छन् । कथंकदाचित आरजुलाई अघि सार्दा बेडा पार हुने संभावना देखिएन भने देउवाले अघि सार्ने सिटौलालाई हो ।

    सिटौला किन उत्तराधिकारी ?

    सरसर्ती हेर्दा यतिबेला देउवा समूह भित्रका दोस्रो नेता पूर्णबहादुर खड्का हुन् । सबै हिसाबले देउवाको उत्तराधिकारी खड्का हुनुपर्ने थियो । यसका लागि खड्काले पटकपटक देउवालाई आग्रह गरेको समाचार आएका छन् । तर विगतमा देउवाले निधीलाई जे जस्तो जवाफ दिने गर्थे खड्कालाई पनि त्यस्तै जवाफ दिने गरेका छन् । खड्का पछिल्ला दिनमा त देउवाको किचन क्याबिनेटभन्दा बाहिर छन् ।

    ‘आरजुलाई अघि सार्दा बेडा पार नलाग्ने अवस्था देखियो भने देउवाले पूर्ण खड्कालाई अघि सार्न किन कन्जुस्याइँ गर्लान् र ?’ कांग्रेस भित्रका धेरैको मनमा उब्जने प्रश्न हो यो । तर १५औँ महाधिवेशनमा खड्का सभापति बने भने १६औँ महाधिवेशनमा डा. आरजुको पालो आउन सहज छैन । किनकी उमेरका कारण पनि खड्का दोस्रो कार्यकालका लागि सभापतिको उम्मेद्वार बन्न सक्छन् । डा.आरजु र पूर्ण खड्काको उमेर अन्तर खासै धेरै छैन । करिब ५ वर्ष मात्रै हो । त्यसैले आरजुको भविष्य सुरक्षित गर्नका लागि पनि देउवाले पूर्ण खड्कालाई फ्याँकेर कृष्ण सिटौला अघि सार्ने संभावना बलियो देखिएको हो ।

    पहिलो कुरा त उमेरका कारणले पनि सिटौला सभापति बन्ने भनेको १ कार्यकालका लागि मात्रै हो । किनकी उनी ७६ वर्ष भइसके । आरजुलाई १५औँ महाधिवेशनमा उपसभापति र १६औँ महाधिवेशनमा सभापति निर्वाचित गराउने गरी देउवाले कृष्ण सिटौलासँग कुरा अघि बढाएको समाचार असत्य होइन । दोस्रो कुरा सिटौलालाई अघि सार्दा गगन थापाको तथा दक्षिणी छिमेकी देशको समेत साथ सहयोग हुने संभावनालाई देउवाले नजरअन्दाज गरेका छैनन् ।

    यसैगरी देउवाको सबैभन्दा सद्गुण भनेको आफू असुरक्षित हुने अवस्थाबाहेक आफ्ना सहयोगीप्रति कृतघ्न नहुनु । निर्णायक घडीमा आफूलाई सहयोग गर्नेलाई देउवाले मानमर्दन गरेका छैनन् । देउवा १३औँ र १४औँ महाधिवेशनमार्फत सभापति निर्वाचित हुनुमा सिटौलाको निर्णायक भूमिका थियो । सिटौलालाई पालाको पैँचो तिर्ने ठाउँको खोजीमा देउवा छन् । त्यसमाथि पनि अरूलाई भन्दा सिटौलालाई अघि सार्दा बेडा पार लगाउन सहज हुन्छ भन्ने कुरा देउवालाई थाहा छ ।

    किनकी देउवा समूहको मुख्य प्रतिस्पर्धी भनेको कोइराला समूह नै हो । कोइराला समूहको मुख्य आधार क्षेत्र भनेको कोसी प्रदेश हो, त्यसपछि मधेस प्रदेश हो । यी २ प्रदेशमा गरी करिब करिब ४० प्रतिशत मत छ । यो मतमध्ये करिब एकतिहाइ मत नफुत्काउँदासम्म देउवा पक्षले चुनाव जित्ने ताकत राख्दैन । कोइराला समूहबाट यो मत फुत्काउने तकत पूर्ण खड्काले भन्दा सिटौलाले बढी राख्छन् । सिटौला अघि सार्दा देउवा समूहलाई भौगोलिक सन्तुलन मिलाउन पनि सजिलो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images