images
images
  • रास्वपालाइ हिरासतबाटै चलाउँदै रवि लामिछाने, कार्यबाहक जिम्मेवारीकाे भरमा पार्टी चल्ने !

    काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक संरचनामा समस्यामा परेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियुक्त बनेपछि मूल नेतृत्व नै कार्यबाहक जिम्मेवारीमा पुगेको हो ।

    पार्टी प्रवक्ता, पार्टी महामन्त्री र पार्टी सभापति कार्यबाहक छन् । सोमबार मात्र पार्टीको सभापतिमा कार्यबाहक जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन् । नेताहरूका अनुसार पार्टी सभापति लामिछानेले नै ‘अर्याललाई कार्यबाहकको जिम्मेवारी दिनू’ भनेपछि रास्वपाको सचिवालय बैठकले त्यसलाई अनुमोदन गरेको हो ।

    लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् । कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध आइतबार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

    रास्वपामा पार्टीका महामन्त्री र प्रवक्ता पनि कार्यबाहक नै छन् । महामन्त्री, प्रवक्ताको जिम्मेवारीबाट रास्वपाले गत २५ असारमा मुकुल ढकाललाई पदमुक्त गरेको थियो । त्यसपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिइएको छ ।

    ढकालले तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको खस्कँदो स्थितिबारे उल्लेख गरेको र ती कुरा बाहिर ल्याएको अभियोगमा ढकाललाई रास्वपाले कारबाही गरेको हो । पार्टी निर्णय चित्त नबुझे पुनरावेदन गर्न ३५ दिनको समय दिइएको थियो । तर, उक्त समयमा पुनरावेदन नदिएर संचार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको आरोप लगाउँदै रास्वपाले ११ भदौमा ढकाललाई साधारण सदस्यबाट पनि निष्कासित गरेको थियो । त्यसयता रास्वपाले महामन्त्री र प्रवक्ता तोकेको छैन ।

    अब रास्वपाले संसदीय दलको नेतामा समेत कार्यबाहक तोक्नुपर्ने छ । रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की लामिछानेको सांसद पद निलम्बनमा परे पनि सांसद पद नै खारेज भएको रूपमा बुझ्न नहुने बताउँछन् । उनी भन्छन्, ‘निलम्बनमा पर्नु भनेको पद खालि हुनु होइन । यस कारण संसदीय दलको नेता के हुन्छ भन्ने प्रश्न छैन ।’

    तथापि, दलको नेता नै निलम्बनमा रहँदा संसदीय दलको बैठक बस्नुपर्दा के गर्ने भन्ने कल्पना रास्वपाको विधानले गरेको छ । हाल रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ छन् । अब रास्वपा संसदीय दलको बैठक बस्नुपर्दा रवि लामिछाने निलम्बनमा रहुञ्जेल श्रेष्ठले संसदीय दलको बैठकको अध्यक्षता गर्ने छन् । अर्थात्, श्रेष्ठले संसदीय दलको नेताको भूमिका निर्वाह गर्ने छन् ।

    रास्वपाका एक नेता भन्छन्, ‘दलको विधानले संसदीय दलको नेताको अनुपस्थितिको कल्पना गरेको छ । यस्तो भएको अवस्थामा उपनेताले स्वतः दलको नेताको भूमिका पाउने छन् ।’ श्रेष्ठ भने यस सम्बन्धमा पार्टीको केन्द्रीय समिति र पदाधिकारी स्तरमा छलफल हुनुपर्ने अडानमा रहेको नेताहरू बताउँछन् । रास्वपाकै अर्का एक नेताका अनुसार केहीले यसअघि नै श्रेष्ठको नेतृत्वमा संसदीय दलको बैठक राख्नुपर्ने माग राखेका थिए । तर, श्रेष्ठले मानेका थिएनन् ।

    संसदीय दलका नेता प्रहरी हिरासतमा रहेका बेला उपनेताको नेतृत्वमा दलको बैठक राख्दा राम्रो सन्देश नजाने भन्दै श्रेष्ठले मानेका थिएनन् । अब भने दलको नेता नै निलम्बनमा पर्ने अवस्थामा श्रेष्ठले दलको नेताको भूमिका निर्वाह गर्नुपर्ने भएको छ ।

    यसका लागिसमेत केन्द्रीय समितिको बैठक र पदाधिकारीको बैठक बसेर निर्णय लिएर अगाडि बढ्ने तयारीमा रास्वपाका नेताहरू छन् । ‘रास्वपाको विधानतः दलको नेता निलम्बनमा पर्दा उपनेताले नेतृत्व गर्ने हो । तथापि, यो एउटा खालि जिम्मेवारीको कुरा हो । जे हुन्छ, सल्लाहमै हुन्छ’, ती नेताले भने ।

    युवा पुस्ताको भरोसा तोड्दै रास्वपा सभापति रवि लामिछाने
    photo rsp netaयुवा पुस्ताको भरोसा र समर्थनको जगमा छोटो समयमै प्रभावशाली राजनीतिक पार्टीको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकै कारण थला पर्न थालेको छ । पार्टी गठन भएको साढे २ वर्षमै सभापतिसहित पार्टीको कामका लागि महत्वपूर्ण मानिएको महामन्त्री र प्रवक्ता गरी तीनवटै पद कार्यबाहकको काँधमा पुगेको छ ।

    गत असारमा तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको थियो । त्यसमाथि गत सोमबार पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएपछि डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति लामिछानेले दुई महिना हिरासतबाटै पार्टी चलाएका थिए ।

    दुई पटक मन्त्री भइसकेका अर्याल उपसभापति हुन् भने बुर्लाकोटी सहमहामन्त्री र झा केन्द्रीय सदस्य हुन् । पार्टीका उपसभापति अर्यालले सभापतिमा रविको विकल्प नभएको अभिव्यक्ति दिँदै आएका थिए भने कांग्रेसबाट रास्वपामा प्रवेश गरेसँगै रविबाट विपि कोइरालाको झल्को आएको अभिव्यक्ति दिएपछि डा.स्वर्णिम वाग्लेलाई रविले दोस्रो उपसभापति बनाएका थिए । यद्यपि पार्टीको कार्यबाहकको जिम्मेवारीमा आउनका लागि उनले गरेको भगीरथ प्रयत्न खेर गएको छ ।

    पार्टीका तत्कालीन महामन्त्री ढकाललाई गत असार २० गते रास्वपाले पदबाट निलम्बन गरेको थियो । पछि अनुशासनहीन व्यवहार गरेको भन्दै थप कारबाही गरेको थियो । उनले देशभर घुमेर रास्वपाको स्थितिबारे समीक्षा यात्रा प्रतिवेदन तयार पाएका थिए । तर, त्यसबारे कुरा राख्न नपाएको, पर्याप्त छलफल नभएको भन्दै उनी केन्द्रीय समिति बैठकमा कालो टेप लगाएर समेत बसेका थिए ।

    आफूलाई सभापति लामिछाने लगायत केही नेताहरूले ‘ह्यारेसमेन्ट’ गरेको भन्दै बैठकको बीचबाटै बाहिरिएर नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । पहिले गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएका लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको उनको आरोप थियो । यसपछि उनको महामन्त्री र प्रवक्ताको जिम्मेवारी खोसिएको थियो ।

    पहिले मुकुल रविको विश्वास पात्रका रूपमा चिनिन्थे । रविलाई सघाउन उनी अस्पतालको जागिर छाडेर राजनीतिमा आएका थिए । २०७९ सालमा उनी ललितपुरको मेघा अस्पतालमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । कालिकोटमा रास्कोट अस्पताल बनाउने योजना पहिले उनकै थियो । लामिछानेलाई उनले त्यसबारे सुनाएपछि दुई जनाको दोस्ती बढेको थियो । लामिछानेले टेलिभिजन कार्यक्रम छाडेर २०७९ असारमा रास्वपा स्थापना गर्नुअघि उनीसँग पार्टी राजनीतिमा आउन प्रस्ताव गरे ।

    अस्पतालको जागिर छाडेर आफूलाई साथ दिएपछि लामिछानेले मुकुललाई महामन्त्रीको महत्त्वपूर्ण जिम्मेवारी समेत दिए । रास्वपाले मंसिरको चुनावमा प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपा २१ सांसदसहित अप्रत्यासित सफलता सहित प्रतिनिधिसभाको चौथो ठूलो दल बन्यो । शुरूमा सभापति लामिछाने र महामन्त्री ढकालको जोडी जमे पनि यो बीचमा लामिछाने सहकारी ठगीको मुद्दामा हिरासतमा पुगिसकेका छन् भने ढकालले लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीबाट बाहिरिइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images