images
images
  • प्रधानमन्त्रीको भारत भ्रमण जहिलेइ ‘रेडलाइट’मा, के भारत नगएरै सरकारबाट बिदा हुँदैछन् ओली ?

    काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालै भारत भ्रमणमा नबोलाउने आशंका झन झन बलियो हुँदै गएको छ ।

    ओली सरकारकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ओलीको भारत भ्रमण मिलाउन केहि दिन अघि दिल्ली पुगेका उनीहरु सोमबार रित्तो हात स्वदेश फर्केका छन् ।

    यहाँसम्म कि, उनीहरू दुवै जनाले भारत सरकारको आधिकारिक प्रतिनिधिसँग प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफलसमेत गर्न नपाएको स्रोतको भनाई छ ।

    परराष्ट्रमन्त्री आरजु जर्मनी हुँदै पुस ४ गते दिल्ली पुगेकी थिइन् भने एमालेका उपमहासचिव ज्ञवाली काठमाडौँबाट पुस ५ गते दिल्ली पुगेका थिए ।

    वर्तमान र पूर्व पराराष्ट्रमन्त्री दुवैको दिल्लीयात्राको उद्देश्य भने एउटै थियो- नेपाल–भारतबिच पछिल्लो समय चिसिँदै गरेको सम्बन्धलाई सुधार गरेर प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउनु ।

    तर परराष्ट्रमन्त्री आरजु र एमाले नेता ज्ञवालीले भारत सरकारका आधिकारिक प्रतिनिधिसँग भेट नै गर्न नपाई स्वदेश फर्किएपछि कतै प्रधानमन्त्री ओली भारत भ्रमण गर्न नपाएरै सरकारबाट बाहिरिँदै त छैनन् ? भन्ने प्रश्नले बल पाएको छ ।

    तर परराष्ट्रमन्त्री आरजुले भने आफू एउटा सम्मेलनमा भाग लिन दिल्ली गएकोले कसैसँग भेटघाटको कार्यतालिका नै नबनाएको दाबी बिमानस्थलमै गरेकी छन् ।

    एमाले उपमहासचिव ज्ञवालीले पनि ‘प्रवासी संघ नेपाली, भारत’ले आयोजना गरेको साहित्यिक कार्यक्रममा भाग लिन मात्रै दिल्ली गएको र प्रधानमन्त्री ओलीको भारत भ्रमणसँग आफ्नो भ्रमणको कुनै साइनो नरहेको टिप्पणी गरेका छन् ।

    तर एमाले निकट स्रोतका अनुसार भने उनी ओलीको दूत भएरै भारत गएको र उक्त कार्यक्रम पनि पार्टीले भनेअनुसार नै आयोजना गरिएको थियो ।

    २० म‌ंसिरमा चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा जान आतुर रहेको बताइरहेका छन् ।
    तर ओलीको भ्रमणलाई लिएर भारतले चासो नै नदेखाएपछि ओली सरकार समस्यामा परेको छ ।

    कूटनीतिक मामलाका जानकारहरु भने भारतसँग प्रधानमन्त्री ओली आफैले सम्बन्ध बिगारेका कारण ओलीलाई भारत भ्रमण गराउने गरी भारतमा वातावरण नै बन्न नसकेको बताउँछन् ।

    अबको केही समय मोदी दिल्लीको विधानसभा चुनावमा केन्द्रित हुने भएकाले ओलीको भारत भ्रमण लामै समयका लागि टरेको जानकारहरु बताउँछन् । यस्तै अवस्था रहे ओलीले भारत भ्रमण गर्न नपाएरै सरकारबाट हाथ धुनुपर्ने अवस्था आउन सक्ने पनि यस क्षेत्रका जानकारहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images