images
images
  • टोखाको मेयरमा झिनो मतले हारेकी रजनी बनिन् जेसीजको राष्ट्रिय अध्यक्ष

    अर्जुन प्रसाद दहाल (इटहरी)–विश्वभरका युवायुवतीहरु आबद्ध सबैभन्दा ठुलो अन्तराष्ट्रिय संजाल भएको जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) वर्ष २०२५ को लागी महिला नेतृत्वमा राष्ट्रिय अध्यक्षमा रजनी थापाले निर्वाचित भएर मातृशक्तिको उदाहरण पेश गरेकी छिन्।

    इटहरीमा सम्पन्न भएको नेपाल जेसीजको ५१ औं महाधिवेशनबाट थापा विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । अध्यक्षको लागि थापा र कार्कीसहित रश्मी शिल्पकार, विजय गुरुङ, नरेश चन्द्र ओझा र सुनिल तिम्सिना प्रतिस्पर्धाका आकांक्षी थिए । अध्यक्ष पदमा ६ जना आकांक्षी भएपनि गएराति २ जनाबीच चुनावी प्रतिस्पर्धा भएको हो ।

    थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरे । यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भए। यस पदमा ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो भने चार जना निर्वाचित भएका हुन्। राष्ट्रिय उपाध्यक्ष १२ जना निर्वाचित भएका छन्। सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल निर्वाचित भएका हुन्।

    महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ। जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए। महाधिवेशनमा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ५ हजार बढीको सहभागिता रहेको जनाइएको थियो ।

    थापा नेपाल जेसिजको चौथो महिला अध्यक्ष हुन। यसअघि चाँदनी जोशी, कृति तुलाधर, अम्बिका श्रेष्ठ नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष भएका थिए।

    को हुन रजनी थापा ?
    rajani

    नेपाल जेसीजको दोस्रो पटकको प्रयासमा निर्वाचित थापा सन् २०११ मा जेसीजको साधारण सदस्यको रूपमा प्रवेश गरेकी थिइन् । उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोसन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् ।

    सामाजिक र राजनीति क्षेत्रमा सक्रिय रजनी क्षमतावान बनेर हरेक मञ्चमा देखिंदै आएकी छिन्।अध्यक्षमा निर्वाचित थापा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन्। उनी नेपाली कांग्रेसबाट उम्मेदवार थिइन्।

    ९ युवालाई ‘जेसीज उत्कृष्ट युवा पुरस्कार–२०२४’
    jci

    जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’ बाट ९ युवा पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरूमा खेल विधामा किकेट खेलाडीद्वय करण केसी, रुविना क्षेत्री, कलाकारितातर्फ पुर्णबहादुरको सारङ्गीका चर्चित कलाकार विजय बराल, पत्रकारितामार्फत देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयास विधामा गोविन्द मरासिनी पुरस्कृत भएका हुन् । त्यस्तै, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील विधामा कविता नेपाल, साहित्य विधातर्फ कुमार सिंह, आर्थिक क्षेत्रमा प्रगति गर्ने विधामा राहिव साहीवाला, विज्ञान प्रविधि विधातर्फ कपिली खनाल र संगीतविधातर्फ सरोज श्रेष्ठ छन् ।

    पुरस्कृत ९ युवालाई प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले प्रमाणपत्र, नगद पुरस्कार र मेडल प्रदान गरे । नेपाल जेसीजले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पुरस्कार छनौट समिति बनाएर विभिन्न शाखाबाट सिफारिस उत्कृष्ट युवाहरूलाई छनौट गरी पुस्कृत गरेको अध्यक्ष पोखरेलले जनाए ।

    करिब डेढ दशकदेखि पत्रकारितामा क्रियासिल मरासिनीले युवा, पर्यटन, कला तथा समसामयिक विषयमा विभिन्न राष्ट्रिय स्तरका पत्रिकाहरू र विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख लेख्दै आएका छन् ।
    महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images