काठमाडाैं- सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण मुद्दा खेपेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक एवं पूर्वडिआइजी छविलाल जोशीको बयान आज पनि हुने भएको छ।
सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलाशमा बयान भएको थियो। तर, बयान सकिएके छैन। त्यही भएर आज पनि छवीको बयान जारी रहनेछ। छवीको बयान नसकिएकाले रास्वपा सभापति एवं गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको बयान सुरु भएको छैन। छविको बयानपछि रविको बयान हुनेछ।
कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार कसूरमा बढी भूमिका भएका प्रतिवादीबाट बयान सुरु गरिन्छ। मंगलबार छविको सकेर रवि लामिछानेको बयान सुरु हुने उनले बताए। बिहीबारसम्म बयान सकेर छिटोमा शुक्रबारबाट थुनछेकको बहसको तयारी छ।
छविले भने ग्यालेक्सी टीभी सञ्चालन गर्ने सन्दर्भमा गोर्खा मिडियामा आफूभन्दा अघि रवि जोडिएको बयान दिएका छन्। जीबी राई र एपीवान टेलिभिजनकी लक्ष्मी पौडेलमार्फत पहिले नै रवि गोर्खा मिडियासँग जोडिएको उनको बयान छ।
रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार दर्ता भएको थियो।























