काठमाडाैं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।
‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो।’
पार्टी विधान अनुसार सभापतिले तोकेका दुई उपसभापति मध्ये एकजना कार्यवाहक सभापति हुने व्यवस्था छ । उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेमध्येबाट एकलाई लामिछानेले कार्यवाहक सभापति तोक्नुपर्ने हुन्छ । रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन्। तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो। यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्।
लामिछाने हिरासतमा रहँदा रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि तोकेको थिएन। तर केन्द्रीय समिति बैठकहरू भने उपसभापति अर्यालकै अध्यक्षतामा बस्ने गरेको थियो।
पार्टी विधानमा के छ ब्याबस्था ?
रास्वपा पार्टी विधानले भन्छ, ‘दुई उपसभापतिमध्ये उमेरमा जेष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमा सभापतिको कार्य गर्ने ।’
विधानको पहिलो व्यवस्था अनुसार ज्येष्ठ उपसभापति कार्यवाहक सभापति हुँदा स्वर्णिम वाग्ले स्वतः हकदार हुन्छन् । २०३१ सालमा जन्मिएका यी दुईमध्ये वाग्लेको उमेर अर्यालको भन्दा तीन महिना बढी छ । विधानमा उल्लिखित अर्को व्यवस्थामा अनुसार ‘सभापतिले तोकेको उपसभापति’ लाई कार्यवाहक सभापति बनाउने गरी लामिछानेले निर्णय गरेका छैनन् ।
याे पनि हेर्नुहाेस् : रास्वपामा कार्यवाहक सभापति र दलको नेता बन्नको लागी स्वर्णिम र डिपीबीच प्रतिस्पर्धा !























