काठमाडौं-नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलका क्रममा जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिकाका– २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका– १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो ।उनीहरुले गत शनिबार एनपीएल फाइनलमा जनकपुर बोल्टसका समर्थक अमनकुमार सिंहलाई कुटपिट गरेको आरोप छ ।
त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा विभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको उनले जानकारी दिए ।


विश्व खबर 


















